भक्सवागनले चीनमा थप दुई अर्ब ५० करोड युरो लगानी गर्ने
सांघाई। आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजारमा बिक्रीमा भएको गिरावटलाई कम गर्न खोजिरहेको जर्मन कार निर्माता भक्सवागन समूहले बिहीबार चीनमा आफ्नो सञ्चालन विस्तार गर्न दुई अर्ब ५० करोड युरो (दुई अर्ब ७० करोड अमेरिकी डलर) लगानी गर्ने बताएको छ।
घरेलु विद्युतीय सवारी निर्माता बिवाइडीसँग आफ्नो उपाधि गुमाएको भक्सवागनले सन् २०२३ सम्म विश्वको सबैभन्दा ठूलो अटो बजारमा सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको उपाधि आफूसँग राखेको थियो।
चीनमा गत वर्ष निर्माता एक्सपेङमा अल्पमत हिस्सेदारी लिनेसहित समूहले विश्वव्यापी स्तरमा विद्युतीय सवारीमा दसौँ अर्ब लगानी गरेको छ। समूहले एक समाचार विज्ञप्तिमा भनेको छ, ‘नयाँ बहु–अर्ब युरो लगानीलाई पूर्वी प्रान्त अनहुईस्थित हेफेईमा भक्सवागनको उत्पादन र नवप्रवर्तन केन्द्रलाई थप विस्तार गर्नका लागि प्रयाग गरिनेछ।’
यसबाट आफ्नो अनुसन्धान र विकास क्षमता बढ्ने र एक्सपेङसँग विकास भइरहेको दुई कार मोडलको तयारीमा पनि सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ।
‘हामीसँग ‘इन चाइना फर चाइना’ रणनीतिका साथ एउटा बलियो योजना छ र हामीले अधिक ग्राहक केन्द्रित, थप गति र स्थानीय विकासका साथ हाम्रो व्यवसायको पुनरसंरचनालाई गति दिइरहेका छौँ’, समूहका कार्यकारी राल्फ ब्रेन्डस्टेटरले विज्ञप्तिमा भने, ‘हेफेईमा यो थप लगानीले स्थानीय नयाँ शक्तिलाई द्रुत गतिमा विस्तार गर्ने हाम्रो महत्त्वाकांक्षालाई रेखांकित गर्दछ।’
विद्युतीय सवारीका लागि चीनको बजारसामु बाँकी विश्व नगन्य भएको छ। रिसर्च फर्म रिस्ट्याड एनर्जीका अनुसार गत वर्ष डिसेम्बरमा विश्वव्यापी स्तरमा बिक्री गरिएका सबै विद्युतीय सवारीमध्ये ६९ प्रतिशत चीनमा भएको थियो।
यस्तो मूल्यवान् बजारको लडाइँमा स्थापित अन्तर्राष्ट्रिय र घरेलु कार निर्माताहरूका साथै स्मार्टफोन तथा उपकरण निर्माता जियाओमीजस्ता हालै उदीयमान कम्पनीहरू पनि सामेल छन्।
भक्सवागनको चीनमा ४० वर्षको इतिहास छ र उसले स्वयंलाई ‘चिनियाँ औद्योगिक पारिस्थितिकीय प्रणालीको अभिन्न अंग’ भन्दछ। समूहले गत महिना जारी गरेको नतिजाले गत वर्ष चीनमा उसको बिक्री सामान्यरूपमा बढेको र सन् २०२२ को तुलनामा सुस्त गतिमा बढेको देखाएको छ। सन् २०२४ का लागि उसको विश्वव्यापी दृष्टिकोण पनि सुस्त थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment