चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

डिसी नेपाल
११ वैशाख २०८१ १०:५१
92
Shares

दाङ। बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन्। चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन्।

बर्सेनि चैते धान रोप्दै आएका घर्तीले हिजो रोपाइँ सकेका हुन्। उनले भने, “सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।”

चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आउनुभएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताए। उनले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोपेका छन्।

बंगलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त छन्। चार रोपनी जग्गामा रोपाइँ जारी छ। थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उनले बताए। स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उहाँले त्यसो भएमा उत्पादन बढाउन सहज हुने बताए।

चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उनी बताउँछन्। वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउँछन्। चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।

कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बंगलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ। जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *