बाह्र वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
भक्तपुर। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।
भक्तपुरस्थित आफ्नै अस्पतालमा आयोजना गरेको १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिए।
अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको उनले बताए।
आगामी दिनमा प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, पाँच सय श्ययाको सुविधा सम्पन्न केन्द्र बनाउनेलगायत लक्ष्य रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले केन्द्र स्थापनादेखि यसको विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको चर्चा गर्दै केन्द्रलाई अगाडि बढाउन मन्त्रालयदेखि सबै निकायले हातेमालो गर्नु आवश्यक भएको उल्लेख गरे।
सांसद प्रेम सुवालले अस्पतालका लागि जग्गा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको बताए। सांसद दुर्लभ थापाले भक्तपुर नगरपालिकाले आयोजना गरेको एक हजार दुई सय रोपनीको जग्गामध्ये १० रोपनी मानव अंगको अस्पताल बनाउन दिनुपर्ने बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिरामीको चाप बढेकाले भवन विस्तारमा जोड दिनुपर्ने बताइन्। सो अवसरमा २०८० सालमा उत्कृष्ट सेवा गरेबापत डा दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट सेवा दिएको भन्दै केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र डा कल्पनाकुमारी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment