राष्ट्रिय नाचघरमा ‘माटोको गीत’को सांस्कृतिक श्रृंखला सुरुवात
काठमाडौं। देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति श्रृंखला सुरुवात गरेको छ। हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक श्रृंखलामा नाटक, नृत्य र गीत प्रस्तुत गरिँदै आएको सांस्कृतिक संस्थानका अध्यक्ष चन्द्रकुमार हतुवाली राईले बताए।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा दोस्रो संस्करणको रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ। दुई घन्टाको प्रस्तुतिमा राष्ट्रिय विभूति अरनिको तिब्बत गएर कला प्रदर्शनी गरी नेपालको नाम उँचो बनाएको विषयमा कलाकारहरुले लोकनाटक प्रदर्शन गरेका थिए ।
त्यसैगरी, सांस्कृतिक संस्थानका कलाकारहरुले मालश्री धुन, मञ्जुश्री नाच, कर्णाली प्रदेशको सिङारु (वनगारी) नृत्य, लिम्बू र याखा जातिको च्याब्रुङ, थारू जातिमा प्रचलित लट्ठी नाच, नेवारी समुदायको धिमे नाच, गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ, पश्चिम कोही पूर्व घरलगायतका जागरण गीत र नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा ७१ वर्षीया कोलीकुमारी कुँवरले मादल बजाउँदै गीत प्रस्तुत गरिन्।
संस्थानका तर्फबाट खर्क बुढा, नरसिंहलाल श्रेष्ठ, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति, रोहित सुवेदी, सीतामैया राचल, सुक्रिमाया तामाङ, धर्म गन्धर्वले वाद्यवादनमा सघाएका थिए। गायनतर्फ तीर्थराज पोखरेल, दीपेन्द्र बज्राचार्य, शिला विष्ट, बिपिन घिमिरे, राधिका भण्डारी र खुसी थुलुङ्ग राईले साथ दिएका थिए।
अब देशका विभिन्न भूगोलमा बासोबास गर्ने जातजाति र समुदायमा प्रचलित लोकनृत्य, बाजा र संस्कृतिलाई उजागर गर्ने योजना रहेको संस्थानका अध्यक्ष राईले जानकारी दिए।
सांस्कृतिक कार्यक्रममा पूर्वमन्त्री सुदन किरातीले नेपाली कला र संस्कृतिले राष्ट्रिय एकता निर्माण गर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment