यस वर्ष मक्का मदिनामा हावामा उड्ने ट्याक्सीमा चढेर हज गर्न जान पाइने
काठमाडौं । साउदी अरेबिया हज २०२४ को लागि पूर्णरुपमा तयार छ र यस पटक हाजीहरू (हज गर्ने मुस्लिम) को लागि अद्वितीय सुविधाको व्यवस्था गर्दैछ।
साउदी अरेबियाले हज गर्न आउने मुस्लिमहरुको यात्रा सहज बनाउन हवाई ट्याक्सी र ड्रोन चलाउने भएको छ । तर, यो हज सिजनमा यसको परीक्षण मात्र भइरहेको छ ।
साउदी अरेबियाका यातायात र रसद सेवा मन्त्री सालेह अल-जसेरले भने, “उडान ट्याक्सी र ड्रोनको परीक्षण यस वर्षको हज सिजनमा निर्बाध यात्रा सुनिश्चित गर्न र हाम्रा पाहुनाहरूलाई उनीहरूको बसाइमा अधिकतम सुविधा प्रदान गर्नको लागि हो।”
सरकारी समाचार च्यानल अल अरेबियासँग कुरा गर्दै सालेहले ट्याक्सी र ड्रोन उडान गर्ने घोषणा गरे। आगामी वर्षमा हवाई ट्याक्सी यातायातको क्षेत्रमा कसले नेतृत्व लिने भन्नेमा विभिन्न यातायात कम्पनीहरूबीच प्रतिस्पर्धा भइरहेको उनले बताए ।
भविष्यमा हवाई ट्याक्सीलाई कसरी व्यावहारिक बनाउन सकिन्छ भन्ने विषयमा अधिकारीहरूले अनुसन्धान गरिरहेकोमा उनले जोड दिए । मन्त्रीले हजयात्रा विस्तार हुँदै गएकाले हजयात्रालाई सहज बनाउन यस्ता नयाँ प्रविधि ल्याउन जरुरी रहेको बताए ।
हज इस्लामको पाँच पवित्र स्तम्भहरू मध्ये एक हो, जुन प्रत्येक सक्षम मुस्लिमलाई एक पटक गर्न अनिवार्य मानिन्छ। साउदी अरबको मक्का सहरमा यस वर्षको जुन १४ बाट हज यात्रा सुरु भई जुन १९ सम्म चल्ने छ ।
साउदी अरेबियाको सरकारले हजका लागि विभिन्न दिशानिर्देश पनि जारी गरेको छ, जसको उल्लंघन गरे सजायको व्यवस्था छ ।
हालै साउदी अरेबियाको गृह मन्त्रालयले हजको नियम तोड्नेलाई कडा कारबाही गरिने बताएको थियो । मन्त्रालयले जुन २ देखि जुन २० सम्म अनुमतिबिना हज गर्नेले १० हजार साउदी रियाल जरिवाना तिर्नुपर्ने बताएको थियो । यससँगै हज नियम तोड्ने विदेशी नागरिकलाई देश निकाला गरिने छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment