एक जना पनि विद्यार्थी नभएको जैमिनीको विद्यालयमा चार शिक्षक

डिसी नेपाल
४ जेठ २०८१ १५:५२
520
Shares

बागलुङ। सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन्। खिया लागेका जस्ताले छाएको छानो। मक्किएका झ्याल ढोका। लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ।

भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ। यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो। विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए। अहिले एकजना पनि विद्यार्थी छैनन् ।

विद्यालयमा विद्यार्थी नभए पनि चार शिक्षक दैनिक आउँछन्। दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन्। विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ। गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको सङ्ख्या शून्य भएको हो। केही वर्षअगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन्।

ती घरमा पनि बूढापाका मात्रै छन्। सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार भार्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान बनेको छ। विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन् । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन्।

विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो। दैनिक पठनपाठन हुनुपर्ने हो। विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ। डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन्। विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन्। बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन।

यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताए। गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको उनको भनाइ छ। अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउँछन्।

शर्माले भने, “एक दशक अगाडिसम्म झन्डै एक सय कुरिया ९घर परिवार० रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिनदिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बूढापाका मान्छे मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकलाई पनि दिनभरि यत्तिकै बस्दा गाह्रो भएको छ।”

विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दशक अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताइन्। अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उनको भनाइ छ। विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पु¥याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताइन्।

यहाँका अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्ने उनको भनाइ छ। पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउँछिन्।

“हाम्रो छोराछोरीले पढ्ने बेला एउटा कुर्चीसमेत हुँदैनथ्यो, केटाकेटी भुइँमै धुुलोमै बसेर पढ्थे, अहिले कोही पनि भुइँमा बस्न पर्दैन, बस्ने ठाउँ पनि कति राम्रो बनाएका छन्, नजिकै चर्पी, धारा बनेका छन् तर त्यो सुविधा लिने कोही छैन”, पौडेलले भनिन्, “यो अवस्था देख्दा निकै वैराग लाग्छ, यो ठाउँ पहिला कस्तो रमाइलो थियो, जताततै मान्छे भेटिन्थेँ, केटाकेटी भेटिन्थेँ, अहिले त न ठूला मान्छे भेटिन्छन्, न बालबालिका, गाउँमा भएका अलिअलि पनि बजार झर्ने सुरसार गर्दै छन् ।”

जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताए। यही जेठ १२ गतेसम्म कुन कुन विद्यालय समायोजन गर्ने, कुन कुन विद्यालयको तह घटाउने र स्थगन गर्ने भन्ने विषयमा वडा शिक्षा समितिले प्रतिवेद बुझाउने तथा सोहीअनुसार नगरपालिकाले काम गर्ने उनको भनाइ छ।

नगर शिक्षा अधिकारी आचार्यले भने, “नगरपालिकाले १० वटै वडाका विद्यालयको अवस्था बुझ्ने र तह मिलान, समायोजन तथा स्थगन गर्ने विषयमा हामीहरु गम्भीर छौँ, वडा शिक्षा समितिमार्फत सबै वडाका विद्यालयका बारेमा अध्ययन गरिराख्नु भएको छ, यही जेठ दोस्रो साता उहाँहरुले प्रतिवेद ल्याउनुहुन्छ र सोही अनुसार नगरपालिकाले विद्यालय समायोजन गर्ने, तह घटाउने अथवा अरू के गर्ने भन्ने विषय निक्र्यौल हुन्छ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *