उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

डिसी नेपाल
४ जेठ २०८१ १६:१८
176
Shares

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ। नेपाल पन्छीविद् संघका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ।

चराविद् शंकर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए।

कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो। चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’ र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासियस’ रहेको जनाइएको छ।

यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मङ्गोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवसीय रुपमा पाइने संघले जनाएको छ। लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रुपमा रेकर्ड भएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा चराका प्रजातिको सङ्ख्या आठ सय ९५ पुगेको जनाइएको छ । नेपालबाट सबैभन्दा नजिक चीनका विभिन्न ठाउँमा यो चरा पाइने गरेको छ।

यो चराले जाडोमा दक्षिणतिर बसाइँ सर्ने र दक्षिणपूर्वी चीन, ताइवानमा जाडो बिताउने गरेको चराविद् बताउँछन्। लोमान्थाङमा रेकर्ड गरिएको उक्त चरा प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *