कविता : अज्ञानी

शंकरप्रसाद रिजाल
१९ जेठ २०८१ ६:५५
60
Shares

खोइ केही बुझ्दिन, यो संसारमा कुनैपनि
किताब कत्ति लेखिए, यो धर्तीमा जुनैपनि
मागी किताब पढ्छु म, पाना फेर्दै घरीघरी
पुग्दिन बिन्दुमा फेरि, हेरी डुल्छु वरिपरी

को छ त्यो बिन्दुमा छुने जो साबित गर्दछ
खाली बिचारको ढेर डोको भरी उ भर्दछ
ज्ञानको भेद बुझ्दिन हो के ज्ञान सत्य र
नबुझे ज्ञान बुझ्दिन फेरि पर्दछ मुन्तिर

अज्ञानी मनको स्याल भाग्छ लुकिलुकी पर
ज्ञानी मनको बाघ उग्राउँदै वरवर
घमण्ड मनको ज्वाला अज्ञानीमा रहन्छ नै
ज्ञानीको मनको पाला बल्छ दियो बलेर झैं

सारा निशा देखिन्छ अज्ञानी मनको “म” मा
कल्पी रोएको उ देखिन्छ सधैं आफ्नो तन महाँ
आशा उमंग नासिन्छ अज्ञानीको मैदानमा
हुन्न केही मनको आशा ज्ञानीजस्तो उ धर्तीमा

रुपले हुन्न केही साथी अज्ञानी रहे पछि
यत्नले हुन्छ है साथी ज्ञानवान बनेपछि
अज्ञानी मनको प्याधा अभागी मनको ब्यथा
उ बोल्छ रुस्टको भाषा सुन्दैनन् उसको कथा

अज्ञानी अघी सर्छ हरेकको बिबादमा
ज्ञानी सधैं अघि सर्छ नित्य सत्य संबादमा
अज्ञानी घोरको रात दौडिन्छ नभए सरी
ज्ञानी फक्रिन्छ बिहानीमा सूर्यको लालिमासरी

अज्ञानी मनको लोभी सधैं उ चक्कराउँछ
ज्ञानीको माझमा बस्दा उ कठै बर्बराउँछ
ज्ञानी बस्दछ हाँसेर रोइ अज्ञानी मर्दछ
हाँसेरै यो जीवनमा ज्ञानी ज्योति जगाउँछ

राखेर मनमा क्लेश अज्ञानी उ कहलाउँछ
जमेको पानीको थुप्रो झैं उ सधैं गनाउँछ
अतः ज्ञानीको संगती राम्रो जताततै वरीपरी
अज्ञानी द्वेषको पोको डुल्छ फिर्छ घरीघरी
अज्ञानी द्वेषको पोको डुल्छ फिर्छ घरीघरी।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *