साउदीमा गैरकानुनी नेपाली दिइँदै धमाधम एक्जिट भिसा

डिसी नेपाल
८ असार २०८१ ८:३०
84
Shares

काठमाडौं। साउदीमा गैरकानुनी रूपमा बस्दै आएका नेपाली कामदारले धमाधम एक्जिट भिसा पाउन थालेका छन् । रियादस्थित नेपाली दूतावासले सार्वजनिक गरेको पछिल्लो सूचनाअनुसार मे र जुन महिनामा मात्र ३ सय ७५ जना गैरकानुनी रूपमा बसेका नेपालीले एक्जिट भिसा पाएको जनाइएको छ । दूतावासका प्रथम सचिव टोपनारायण गिरीले दिएको जानकारीनुसार दूतावासको पहलमा सन् २०२३ मा २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका छन् ।

आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकालाई स्वदेश फर्किने भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड्नुपर्ने कानुनी व्यवस्था छ ।

एक्जिट भिसाको प्रक्रिया निःशुल्क हुने दूतावासले जनाएको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट भने व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । साउदीमा इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको अवस्था छ भने एक्जिट भिसाका लागि आवेदन दिन सकिनेछ ।

त्यस्तै, साउदी आएको तीन महिनाभन्दा बढी समयसम्म पनि इकामा नबनाइदिएकाले समेत एक्जिट भिसाका लागि आवेदन दिन सकिने सचिव गिरीले बताए । हुरूब लागेका व्यक्तिले दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ गर्न सकिँदैन । इकामाको म्याद भएकाको एक्जिट भिसा प्रोसेसिङ गर्न नमिल्ने दूतावासले प्रस्ट पारेको छ ।

यसैगरी, कुनै केस वा जरिमाना तिर्नुपर्ने बाँकी छ भने त्यो क्लियर नहुँदासम्म एक्जिट भिसा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ । दूतावास आफैंले एक्जिट भिसा दिँदैन । उसले त त्यसका लागि प्रोसेस गरिदिने मात्र हो ।

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग हुन्छ । त्यसैले, दूतावासमा आएर फाराम भरेपछि एक्जिट भिसा लागिहाल्छ भन्ने कुनै ग्यारेन्टी नहुने दूतावासले जनाएको छ ।

जुन ठाउँबाट आफ्नो इकामा बनेको हो, त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयबाट एक्जिट भिसाका लागि प्रोसेसिङ गर्नुपर्ने साउदी नियम रहेको छ । तसर्थ, एक्जिट भिसाका लागि दूतावासमा आउनुभन्दा अघि अनिवार्य रूपमा आफ्नो इकामा कहाँबाट बनेको हो, यकिन गर्नसमेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

रियादबाट इकामा बनेकाहरू मात्रै एक्जिट भिसा प्रोसेसिङका लागि दूतावासमा आउन र रियादभन्दा बाहिरबाट इकामा बनेकाले एक्जिट भिसा प्रोसेसिङ फोनबाटै जानकारी लिन सकिने जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुनेछ । यसबापत एक हलाला पनि कहीं कतै बुझाउनुपर्दैन । एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा दूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्न पनि दूतावासले अनुरोध गरेको छ ।

दूतावासले साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

पछिल्लो समय साउदी पुगेर हजारांै नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने व्यवस्था छ ।

साथै, यस्ता घटनालाई कम गर्न दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनी आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गर्दै आएको छ ।

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *