गायक भीम लिम्बूको नयाँ गीत ‘खुल्यो है खुल्यो’ सार्वजनिक
काठमाडौं। गायक भीम लिम्बू सेनेहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन्।
गायक भीम लिम्बूको अफिसियल युट्युब च्यानल ‘भीम लिम्बू’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छायाँकन हङकङमा गरिएको हो।
हङकङलाई कर्मथलो बनाउँदै आएको निर्देशक युगल पोमूले निर्देशन गरेका यस भिडियोमा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा साम्पाङ राईको अभिनय रहेको छ। निर्देशक पोमूले यस भिडियोलाई फेमिलियर शैलीमा तयार गरेका छन्।
प्रायः नृत्यपरक भिडियो निर्देशन गर्दै आएका पोमूले यस गीतको भिडियोलाई एउटै फ्लोरमा सक्ने प्रयास गरेका छन्। भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवापुस्ताको रोमान्टिक जीवनशैलीलाई चित्रण गर्न खोजिएको छ।
दर्शक तथा श्रोताले टपक्क टिप्न सक्ने लोकशैलीको यस गीतको संगीत चर्चित संगीतकार ताराप्रकाश लिम्बूले गरेका हुन् भने शब्दरचना बरिष्ठ गीतकार डा कृष्णहरि बरालको रहेको छ।
मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको यस भिडियोका लागि डान्स कोरियोग्राफी सुक सामेखाम लिम्बूले गरेका हुन्।
गायक भीमले आफ्नो पछिल्लो यस गीतबाट निकै आशावादी रहेको बताए। विशेषगरी पूर्वेलीका गीतका लागि चर्चित भीमले भने, ‘यसअघिका गीतहरुभन्दा यो केही फरक छ। दर्शक तथा श्रोताले पनि त्यो पक्कै महशुुस गर्ने छन्।’
गायक भीमका ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’लगायतका गीत चर्चित छन्। हालैमात्र सार्वजनिक लिम्बू संस्कृतिमूलक पालम ‘मिन्जिमा ए’ पनि अहिले चर्चामा छ। यसैबेला भीम ‘खुल्यो है खुल्यो’ गीतको भिडियो लिएर आएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment