श्रीमानको जन्मदिनमा पार्टी दिँदा श्रीमानले प्रशंसा नगरेपछि झुक्याएर विष खुवाइन्
काठमाडौं । अमेरिकामा एक अनौठो घटना सार्वजनिक भएको छ । एक महिलाले आफ्नो श्रीमानको जन्मदिनको पार्टी दिँदा श्रीमानले आफ्नो प्रशंसा नगरेको कारणले विष खुवाएर मार्ने प्रयास गरेकी छिन् ।
मिसौरीमा ४७ वर्षीया मिशेल वाई पीटर्सले आफ्नो श्रीमान्को माउन्टेन ड्यूमा कीटनाशक औषधी हालेको आरोपमा पक्राउ परेकी छिन् । उनका श्रीमानले आफ्नो ५० औं जन्मदिनको पार्टीमा उनको प्रशंसा गरेका थिएनन्।
न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार मिशेललाई सोमबार पक्राउ गरिएको थियो र उनको श्रीमानको ज्यान लिने प्रयास गरेको आरोप लगाइएको थियो।
माउन्टेन ड्यूमा विषादी मिसाउनुको कारणबारे प्रश्न गर्दा महिलाले प्रहरी अधिकारीहरूलाई आफूले आयोजना गरेको पार्टीको कदर नगरेको कारण श्रीमान्प्रति ‘निर्दयी’ हुन चाहेको बताइन्।
पिटर्सका पतिले ल्याक्लेड काउन्टी शेरिफको कार्यालयमा उजुरी गरेर आफ्नी श्रीमतीले उनलाई विष दिएको बताए । प्रहरीका अनुसार मिशेलका श्रीमानले उजुरीमा आफ्नी श्रीमतीले उनलाई पिउन दिएको डाइट माउन्टेन ड्युको क्यान अनौठो लागेको बताएका थिए ।
सुरुमा उनले स्वादलाई बेवास्ता गरे र आफ्नी श्रीमतीले दिएको माउन्टेन ड्यू पिइरहे। तर, केही सातापछि उनलाई घाँटी दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने र वान्ता हुने समस्या देखा पर्न थाल्यो ।
श्रीमानले खोकी लाग्दा खैरो-पहेँलो कफ पनि निस्किएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । शंका लागेपछि उनले घरको सिसिटिभी फुटेज हेरे । फुटेजमा उनकी श्रीमतीले फ्रिजबाट सोडा र कीटनाशकको बोतल निकालेको कथित रूपमा देखिएको छ ।
केही समयपछि उनी फर्किन् र दुवै सामान फ्रिजमा राखिन् । पतिले विषादीको बोतल खाली भएको दाबी गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment