सामाजिक सवालमा आधारित १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड

डिसी नेपाल
२० असार २०८१ १८:४९
32
Shares

काठमाडौं। श्रमको पहिचान, सुरक्षा र सम्मानका साथै अन्य विभिन्न सामाजिक सवाललाई लिएर १०० वटा लोक तथा प्रत्यक्ष दोहोरी गीत रेकर्ड गरिएको छ। मनोरञ्जन क्षेत्र (दोहोरी रेस्टुरेन्ट, डान्स बार, स्पारमसाज, क्याबिन र खाजाघर)का श्रमिकको संस्था महिलाको निम्ति महिला मञ्च नेपालले उक्त गीत रेकर्ड गरेको हो।

विभिन्न विषयमा सचेतना जगाउने उद्देश्यले रेकर्ड गरिएका गीतमा नेपालको विभिन्न भुगोलमा प्रचलित दोहोरी, टप्पा, सेलो, रोइला, पुर्वेली, काठे, देउडालगायतका भाका रहेको संस्थाकी अध्यक्ष सोनिया तामाङले बताएकी छिन्। ‘मञ्च अन्तर्गतको ‘साँस्कृतिक अभियान समूह’को सक्रियतामा हामीले मनोरञ्जन क्षेत्रका श्रमिकका पीडा, महिलाको पहिचान, महिलाविरुद्धका हिंसा (छाउपडी, घरेलु हिंसा, श्रम र पारिश्रमिकका हुने विभेद, कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार र शोषण) महिलाको स्वतन्त्रता, समानता, साईबर सुरक्षा, जातव्यवस्थाको असर, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्तिको समस्या, उपभोक्ता अधिकार, असंगठित क्षेत्रका श्रमका सवालगरी १०० वटा विषयमा गीत तयार पारेका छौं,’ तामाङले भनिन्।

मनोरञ्जन क्षेत्रलाई हिंसा, शोषण रहित, सुरक्षित, सम्मानित र व्यवस्थित कार्यस्थलको रुपमा स्थापित गर्न संगीतलाई माध्यम बनाइएको संस्थापक अध्यक्ष तथा संस्थाकी निर्देशक सिर्जना पुनमगरले बताइन्। ‘श्रमिकको मान्यता र पहिचान स्थापित गर्नका लागि सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि हामीले संगीतलाई माध्यम बनाएका हौं,’ उनले भनिन्। सचेतनामूलक १०० गीतको योजना, व्यवस्थापन र समन्वय डिबी खड्का, सविता पोखरेल र वर्षा लुईंलेटले गरेका हुन्।

उक्त अभियानमा संस्थाकै सांस्कृतिक समूहमा रहेका र अन्य गरी २५ भन्दा बढी गायक गायिकाको संलग्नता रहेको थियो। अभियान अन्तर्गत रेकर्ड भएका गितमा नियमित कलाकारका रुपमा रेवती पौडेल, तारा थापा, देवी आले, रोमु भुजेल, रत्न श्रेष्ठ, शर्मिला वि।सी, टेकराज भण्डारी, धिरज कोईराला, यशोदा केसी, अञ्जान कार्की, टंक रेउले, दिलु बिसी, देवी कुमारी बस्नेत, सागर बिसी, सिमा थापा, शान्ति घर्ती, रमिला बुढामगर, श्याम राना, रेजिना परियार, रन्जिता वि।क, राममाया थापा, टिका पुन लगायतको स्वर रहेको छ।
अतिथि कलाकारका रुपमा भगवान भण्डारी, शर्मिला गुरुङ, ईन्द्र जिसी, शिला आले, टिका पुन, कृष्ण रेउले, अन्जु गौतम (पुर्वेली), रोहित राई, लक्ष्मी आचार्य, सुनिल नेपाली, सन्जु तामाङ्ग, मिना बुढाथोकी, प्रिया राई, शितल कल्पना, सरिता केसी, विष्णु श्रीपाली लगायतले ऐक्यबद्धता जनाउँदै गीत गाएका छन्।

यसैगरी अभियानलाई साथ दिन स्थानीय निकाय, सामाजिक सुरक्षा कोष, स्वास्थ्यविद्, विभिन्न संघसंस्थाका प्रतिनिधी, अभियानकर्मी, वरिष्ठ लोक तथा दोहोरी गायक, असंगठित क्षेत्रका श्रमिकले उपस्थिति जनाएका छन्। गीतहरु महिलाका निम्ति महिला मञ्च नेपालको अफिसियल युट्युब च्यानल वफोवनमा प्रत्येक शुक्रबार सार्वजनिक गर्ने गरिएको छ। केही भाग सार्वजनिक भइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *