इटालीकी प्रधानमन्त्रीको उचाइको खिल्ली उडाउने पत्रकारलाई ७ लाख जरिवाना
काठमाडौं । इटालीमा देशकी प्रधानमन्त्रीको खिल्ली उडाएको भन्दै एक महिला पत्रकारलाई अदालतले भारी जरिवाना लगाएको छ । मिलानको एक अदालतले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई सामाजिक सञ्जालमा खिल्ली उडाउने पत्रकारलाई ५ हजार युरो (७ लाख २८ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
यसबाहेक मेलोनीको उचाइलाई लिएर अक्टोबर २०२१ मा गरेको ट्वीटका लागि पत्रकार जिउलिया कोर्टेसलाई १२०० यूरो निलम्बित जरिवाना पनि लगाइएको छ। यो ट्वीटलाई ‘बडी शेमिङ’ भनेर परिभाषित गरिएको थियो।
अदालतको निर्णयपछि कोर्टेसले बिहीबार एक्समा लेखिन्, ‘इटालीको सरकारलाई अभिव्यक्ति स्वतन्त्रता र पत्रकारितामा असहमतिसँग गम्भीर समस्या छ।’ तीन वर्षअघि सामाजिक सञ्जालमा यी दुईबीच विवाद भएपछि मेलोनीले पत्रकारविरुद्ध कानुनी कारबाही गरेकी थिइन् ।
मेलोनीको ब्रदर्स अफ इटाली पार्टी त्यतिबेला विपक्षमा थियो । कोर्टेसले पृष्ठभूमिमा फासिस्ट नेता बेनिटो मुसोलिनीको तस्बिरसहितको मेलोनीको नक्कली फोटो पोस्ट गर्दा मेलोनीले आपत्ति जनाएकी थिइन् । अर्को ट्वीटमा कोर्टेसले लेखेकी थिइन्, ‘मलाई नतर्साउ जर्जिया मेलोनी । तिमी केवल ४ फिट अग्ली छौ । म तिमीलाई देख्न पनि सक्दिन।’
कोर्टेसले यो सजाय विरुद्ध पुनरावेदन गर्न सक्छिन्। मेलोनीका वकिलले प्रधानमन्त्रीले जरिवानाबापत प्राप्त भएको रकम परोपकारलाई दिने बताएका छन् । “इटालीमा स्वतन्त्र पत्रकारहरूका लागि यो कठिन समय हो,” कोर्टेसले बिहीबार लेखिन् “हामी राम्रो दिनको लागि आशा गर्दछौं। हामी हार मान्दैनौं।”
रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०२४ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा इटालीलाई पाँच स्थान तल ४६ औं स्थानमा राखेको छ। गत वर्षको सुरुमा रोमको एक अदालतले लेखक रोबर्टो साभियानोलाई १ हजार युरो जरिवाना र कानुनी खर्च तिर्न लगाएको थियो । उनीमाथि अवैध आप्रवासनमा मेलोनीको कडा अडानको विषयमा २०२१ मा टिभीमा मेलोनीलाई अपमान गरेको आरोप लागेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment