पार्टी निर्माणमा लाग्न एमाले महासचिवको निर्देशन
देउखुरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
‘एमालेका नेता कार्यकर्ताको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको छ, यही दिशामा लाग्नुहोस्,’ एमाले दाङको बैठकमा महासचिव पोखरेलले भने, ‘जनमतको हिसाबले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक कारणले एमाले दोस्रो पार्टी बनेको छ। नेता कार्यकर्ताले यो कुरा कहिले पनि भुल्नु हुँदैन।’
विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले विगतमा नमिलेका कुरालाई मिलाउँदै रोकिएको पार्टी निर्माणको गतिलाई अगाडि बढाउन निर्देशन दिए। उनले भने, ‘तपाईंहरू आजैदेखि पार्टी निर्माणमा लाग्नुहोस्।’ पार्टीलाई जनतासँग जोड्ने अभियानलाई तीब्र बनाउँदै लैजान निर्देशन दिँदै महासचिव पोखरेलले एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाउनतर्फ सबै कार्यकर्ता लाग्नुपर्ने बताए।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्य सुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायत केन्द्रीय र प्रदेशका नेताहरूको उपस्थिति रहेको थियो।
बैठकले स्कुल विभागमा राममणि पाण्डे, प्रचार तथा प्रकाशन विभागमा संगीत बस्याल, स्थानीय संघसंस्था विकास विभागमा मानबहादुर रावत, निर्वाचन विभागमा विवेक श्रेष्ठ, संगठन विभागमा श्याम डाँगी, वित्त तथा कोष व्यवस्थापन विभागमा सानुनारायण अधिकारी र सहकारी तथा गरिबी निवारण विभागमा अमर खड्का रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment