संगीत बजार अहिले युट्युबमा केन्द्रित, ट्रेन्डिङमा तीजका गीत

रामबहादुर थापा/ रासस
२५ साउन २०८१ १३:१५
500
Shares

गण्डकी। गायिका शान्ति श्री परियारद्वारा स्वरबद्ध तीज गीत ‘काली पसम् कि।’ केही दिनयता युट्युब ‘ट्रेन्डिङ’को पहिलो स्थानमा छ। यही साउन चार गते ‘प्रेम सापकोटा सोनु’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्यूजिक भिडियोलाई हालसम्म ३७ लाख बढीपटक हेरिएको छ।

प्रेम सापकोटा ‘सोनु’को शब्द र संगीत रहेको उक्त गीतको भिडियोमा कलाकार स्मारिका ढकाल र जोन बम ढकुरीले नृत्य तथा अभिनय गरेका छन्। पराइ घरमा हेला र प्रताडाना सहन नसकी माइतीघर र आमा पुकारीरहेकी चेलीको वेदनामा आधारित उक्त गीतलाई दर्शक/स्रोताले अत्यधिक रुचाएका हुन्।

यस्तो गीत

‘जसलाई सुनाएनि दुःखै बढ्ने रैछ
छोरी रुने ठाउँ त आमाकै काख हैछ
सबै आमा हौ मेरो जुन घाम हौ
छोरीको आँशु रोक्ने दबाइ आमा हौ…’

तीज पर्व आउन २७ दिन बाँकी छ । दैनिकजसो युट्यबुमा नयाँनयाँ तीजका भाका गुञ्जिन थालेका छन् । अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन्। छोरीचेलीका दुःख, वेदनादेखि प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान–श्रीमती त कहीँ प्रेमी–प्रेमीकाबीचको मायावी सम्वाद पनि गीतमा सुन्न पाइन्छ।

गायिका अस्मिता डल्लाकोटीको स्वर रहेको ‘पिर कल्लाई छैन र…’ युट्युब ट्रेन्डिङको दास्रो नम्बरमा छ । गत शनिबार गायिका डल्लाकोटीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको भिडियोले यो समाचार तयार पार्दासम्म नौ लाख १७ हजारभन्दा बढी ‘भ्यूज’ पाएको छ।

अघिपछि दिनचर्या जेजस्तो भएपनि तीजका दिन सैँसाथी भएर रमाउनुपर्छ भन्ने भाव र सन्देश गीतमा छ । प्रकाश पराजुलीको संगीत र गायिका डल्लाकोटीको आफ्नै शब्द रहेको उक्त गीतले यसो भन्छ –

‘फुर्सदै थिएन हिजको दिन त
के मरी मेट्नु तीजको दिन त
हैन र ए संगीनी हैन र
अरुको अघि रमाउनै पर्छ
रुम त भने पीर कल्लाई छैन र…’

गायिका एलिना चौहानको तीज गीतलाई पनि युट्युबमा रुचाइएको छ । दुई साताअघि सार्वजनिक उक्त गीतको भिडियोलाई अहिलेसम्म २० लाभन्दा बढीपटक हेरिएको छ । नेत्र अर्यालको शब्द र दीपक शर्माको संगीत रहेको उक्त गीत अहिले युट्युब ट्रेन्डिङको आठौँ स्थानमा छ।

गत असारदेखि नै तीज गीत युट्युबमा छाउन थालेका हुन्। संगीत बजार अहिले युट्युबमा केन्द्रित छ । अडियो क्यासेट इतिहास भइसक्यो। तीजलगायत पर्व गीतकामार्फत पनि कलाकारले व्यावसायिक लाभ उठाउँछन्। युट्यबमा धेरै ‘भ्यूज’ बटुल्ने ध्येयले अचेल तीज गीत छिट्टै सार्वजनिक गर्ने गरिएको छ।

गत असार १३ गते ‘भावना म्यूजिक सोलुसन’ युट्युब च्यनलबाट सार्वजनिक तीज गीत ‘बरिलै’लाई हालसम्म ४० लाख बढीपटक हेरिएको छ। बिमल अधिकारीको लेखन तथा संगीत रहेको उक्त गीतमा समीक्षा अधिकारी र मोहन खड्काले स्वर दिएका छन्। गीतको भिडियोमा बिमल अधिकारी र आश्मा विश्वकर्माको नृत्य तथा अभिनय रहेको छ।

‘हेर्छौँ लुकीलुकी’, ‘आफ्नै पारामा’, ‘रहरैमा’, ‘सहरिया छोराबुहारी’, ‘सैनाले दिएको एैना’, ‘बालेनको सहर’, ‘माछी’लगायत तीज गीत युट्युबमा छाएका छन्। तीजको याम सुरु भएपछि कलाकारले अरु विधाका गीतलाई थाती राख्छन्।

तीज गीतले सँधै चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ। बर्सेनि तीज आउँदा यस्ता गीत सार्वजनिक गर्ने लहरै चल्छ। क्यासेट र सिडीको जमना गएपछि कलाकार अहिले युट्युबकै भरमा छन् । ‘भ्यूज’, ‘लाइक’ र ‘कमेन्ट’का आधारमा सर्जक/कलाकारलाई युट्युबाट पैसा आउँछ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ। पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे। खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीर, वेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो।

अहिलेका तीज गीतमा भने मायाप्रेमको विषय बढी मुखरित भएको पाइन्छ। तीज गीतका नाममा सो गीतको मौलिकता माथि खलल पुग्ने गरी गाइएका कतिपय गीत विवादमासमेद पर्दै आएका छन्। केही साताअघि राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गरेको थियो । तीज पर्वकै छेकोमा सार्वजनिक भएको आफ्नो गीत आलोचित भएपछि गायिका शान्तिश्री परियारले माफी नै माग्नुपरेको थियो।

विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएका छन्। यसबीचमा तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएका थियो। यस वर्षपनि दर्जनबढी त्यस प्रकृतिका गीत विवादित बनेका छन्।

तीजको नाम पारेर सार्वजनिक हुने त्यस्ता गीतले ऐतिहासिक पर्व गीतमाथि खलल पुर्‍याएकामा लोकसंगीतप्रेमी चिन्तित छन्। पछिल्लो समय तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको उनीहरुको बुझाइ छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरुले तीज गीतलाई पनि विकृत पारेको बताइन्।

“नेपाली समाजमा पनि बढी नकारात्मकता बिकिरहेको छ, कलाकारिता क्षेत्रमा पनि यस्तो प्रवृत्ति घुसेको छ”, उनले भनिन्, “सस्तो चर्चा बटुल्ने र छिटो पैसा कमाउने लोभमा केही व्यक्तिहरु लागिपरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *