डेडिकेटेड र ट्रंक लाइन बिलको सम्पूर्ण प्रमाण सुरक्षित छः कुलमान घिसिङ
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरे बापतको विलको सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरे बापतको विलमा कुनै चलखेल नभएको दावी गर्दै सम्पूर्ण प्रमाण सुरक्षित रहेको बताएका हुन्।
उनले प्राधिकरणसँग भएको बिलको प्रमाण यसअघि अदालत र अघिल्लो सार्वजनिक लेखा समितिमा समेत पेश भइ आवश्यक आदेश र निर्णय भएको जिकिर गरे।
टिओडी मिटरको रिडिङ प्राधिकरणसँग नरहेको भन्ने बिषय सहि नभएको भन्दै उनले सवै विवरण प्राधिकरणसँग रहेको बताए। अहिले सार्वजनिक लेखा समितिले मागेका सवै बिबरण प्राधिरणले पठाइसकेको र त्यसमा सपोर्टका लागि अन्य कागजात पनि समावेश गरिएको उनले बताए।
उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको जानकारी दिए। उनका अनुसार प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्व ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्व रुपैयाँ पुगेको छ ।
उनले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको बताए।
निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक बर्षमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको उल्लेख गरे।
नेपालको स्वच्छ हरित ऊर्जा छिट्टै बंगलादेश पनि निर्यात हुन लागेको जानकारी दिदै घिसिङले यसका लागि आवश्यक गृहकार्य पूरा गरी नेपाल, भारत र बंगलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता हुने चरणमा पुगेको बताए।
उहाले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर गत आर्थिक वर्षमा प्रणलीको चुहावट करिव १२ दशमलव ७३ प्रतिशतमा झारिएको उल्लेख गरे। उनले तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको जानकारी दिए।
घर र वस्ति मात्रै नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको उनले बताए।
उनले सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने र सरकारको निर्देशन र उपभोक्ताको हित प्राधिकरणका लागि सर्वोपरी भएको स्पष्ट पारे।







डिसी नेपाल







Facebook Comment