आगामी आवदेखि साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने

डिसी नेपाल
८ भदौ २०८३ १७:०८

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि साउन १ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। त्यसका लागि आवश्यक कानुनी तयारी अगाडि बढाएको छ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबार बसेको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा यो सहमति जुटेको हो।

बजेट सार्वजनिक गर्ने समय निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन १ गतेको मिति तय गरिएको समिति सभापति डा.कृष्णहरि बुढाथोकीले जानकारी दिए।

बैंकर्स एसोसिएसन र विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को प्रावधानप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको सभापति बुढाथोकीले बताए।

उक्त दफाका कारण सामान्य कारबाहीलाई आधार बनाएर आफूहरूलाई अयोग्य घोषित गर्ने व्यवस्था रहेको भन्दै बैंकरहरूले यसलाई ‘अभिशाप’ को संज्ञा दिएका छन्।

बैंकरहरूको माग र सांसदहरूको संशोधन प्रस्तावका बाबजुद हालको विधेयकमा दफा १०० संशोधनका लागि खुला नगरिएकाले उक्त प्रस्ताव स्वीकार हुन नसकेको बुढाथोकीले स्पष्ट पारे। सभामुख र अर्थमन्त्रीसहित सरोकारवालाहरूले यस विषयमा चासो राखेकाले यसबारे थप छलफल आवश्यक रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *