अशोकको मैजु महारानीमा नजर

होमनाथ सुवेदी
२७ साउन २०८१ २०:२२
136
Shares

अशोक तिवारी यहीँ अमेरिकामा बसोबास गर्ने एक लेखक, समाजसेवी गोविन्द मैनालीका सम्धी, चचारवटा कृति लोकार्पण गर्ने प्रस्ताब लिएर दुवै जना आउनुभयो। यौटै वर्षमा चचारवटा कृतिका लेखक अशोक तिवारीलाई देखेर अशोकै याद आयो।

साधारण भेसभूषामा देखेर जनसाधारणलाई यो ठूलै कुरा हो। पहिले लेखकको बारेमा जान्ने इच्छा भो। पुस्तकको पछाडि नजर दिएँ-जन्म २०१२ जेठ ३ गते, खरानीटार, नुवाकोटमा, पूर्व उप-प्राध्यापक नेपाल ल क्याम्पस, अधिवक्ता सर्वोच्च अदालत, पूर्व सदस्य राष्ट्रिय सभा २०५४-२०६०।

कानुुनको अध्ययन, कानुनको नै प्राध्यापन, अनि राजाबाट राष्ट्रियसभाको सदस्यमा मनोनित पनि भै अनुभव गरिसकेका लेखक भन्ने पढेपछि लाग्यो-अशोक भन्नु त यौटा उद्वेग मात्र थियो तर महत्वाकांक्षी लेखक हुन् भन्ने ठहराएँ। त्यसो भए के त्यति ४ कृति मात्र हुन् त ? हैन। धेरै लेखिएका रहेछन्। ती त्यही पानामा पढेँ-

अन्तरिक्ष युद्ध (काव्य)

वागमती (काव्य)

इन्द्रकुमारी (महाकाव्य)

राजेन्द्रलक्ष्मी ((महाकाव्य)

भूवनेश्वरी ((महाकाव्य)

विरासत

चुनौती (आध्यात्मिक चिन्तन प्रधान निबन्ध सङ्ग्रह)

पितृलोकको वर्णन  (आध्यात्मिक चिन्तन प्रधान निबन्ध सङ्ग्रह)

मैले नचिनेको म  (आध्यात्मिक चिन्तन प्रधान निबन्ध सङ्ग्रह)

हिरासत  (आध्यात्मिक चिन्तन प्रधान निबन्ध सङ्ग्रह)

मैजु महारानी (ऐतिहासिक विषयवस्तुमा आधारित निबन्ध सङ्ग्रह)

यी ११ वटा कृतिका लेखक ! तपाईँलाई बधाई र धन्यवाद भनेँ ।

अहिले कोही छैन। नितान्त एक्लै छु। कृति अगाडि छ। एकपटक पढिसकेँ। यो कृति ज्ञानगुनप्रकाशनको लागि हिमालय प्रतिष्टान, अनामनगर, काठमाडौंले फागुन ७, २०८०मा प्रकाशन गरेको हो। मूल्य ने.रु.३७५।०० जम्मा १८७ पृष्ठको छ।

मैले त सरसर्ती २ घन्टामा पढेर सकेँ। भाषा सरल, तर्कपूर्ण विचार, निबन्ध भए पनि कथा जस्तै सलल बगेको छ। ऐतिहासिक कथालाई निबन्धमा पढ्दा विधाभञ्जनको याद आयो।

किरात, गोपालवंशी, लिच्छवी, मल्ल, शाह र राणा शासन, प्रजातन्त्र, पञ्चायत, प्रजातन्त्र पुर्नस्थापना र लोकतन्त्रको यो सञ्जालमा यो कृति लेखिएको छ। शाहवंशका पात्रको समर्थन र नेपाल खाल्टाका पुराना षडयन्त्रकारी अमात्यहरूको पर्दाफास गरिएको छ।

आज गणतन्त्र र लोकतन्त्रले  असंख्य विचारधाराका पार्टी, सम्प्रदाय र अभियानहरू संचालन गराइरहेको अवस्थामा फेरि यो शाह कालीन कथाको पुनरावृत्ति किन?

वेदाः विभिन्नाः स्मृतयो विभिन्ना
नासौ मुनिर्यस्य मतम् नभिन्नम्
धर्मस्य तत्वं निहितम् गुहायाम्
महाजनो येन गतः स पन्था।

हो महाजनले जुन बाटो लिए त्यही सही बाटो हो। तर आज त हरएक गलीमा महाजन छन्। कस्को वादविवाद अपनाउने? यो प्रश्न आज कसको अगाडि छैन? यसमा अशोकनाथ तिवारी पनि के सही र के गलतको साथ यौटा पथमा उभिन्छन् र तदनुसार आफ्नो साहित्यको विकास गर्दछन्।

त्यसकै उपज हो यो-मैजु महारानी। अरूलाई जस्तै अशोकनाथ तिवारीलाई पनि आफ्नो विचार फैलाउने उतिकै अधिकार छ। उसो त आफ्ना विचार दिन खास गरी कला र साहित्यमा त हरेक व्यक्ति स्वतन्त्र छ।

म त भन्छुु अशोकजीका अरू कृतिहरू पढ्दा त शाहवंशीय राजाको नै पालामा राष्ट्रकवि माधव घिमिरेलाई जस्तै सम्मान प्रदान गरिएको हुनुपर्ने? किन? तिवारीका अरू कृतिहरू त त्यस्तै हो राजेन्द्रलक्ष्मीले गर्दा त उहाँलाई प्राज्ञमा नै राजाले लानुपर्ने लगेनन् तै पनि अशोकनाथ तिवारीलाई राजाबाट २०५४-२०६० को अवधिको लागि राज्यसभा सदस्यमा त मनोनित गरिबक्सेको त थियो नि।

यो यौटा यही पनि प्रमाण हो कि लेखनकलामा अशोक नै नभए पनि अशोक एउटा ऐतिहासिक महाकाव्यकार हुन् र ऐतिहासिक निबन्धकार हुन्। राजारानीको नै बारेमा लेखेका भए पनि नराम्रो लेखेको भए कलात्मक नभएको भए को उनलाई पुरस्कृत गर्थ्याे र?

मैजु महारानी पृथ्वीनारायणको छोरा प्रताप विरविक्रम शाहकी कान्छी श्रीमती हुन्। यिनको वाल विवाह र अनमेल विवाह भएको थियो। त्यो विवाह गराउन त्यो बेला पृथ्वीनारायण शाहले नेपाल खाल्टो हान्दा असन्तुष्ट अमात्य र गुभाजुहरूले षड्यन्त्र गरी विवाह गराएका थिए।

त्यसो गर्नुको उद्देश्य थियो-नेवार्नी विवाह गराई वालक पैदा गराई नेवार नाति जन्माउन लगाएर नेवार नै राजगद्दीमा राख्ने। राजेन्द्रलक्ष्मीको चातुर्यले आफैले पहिलो राकुमार पैदा गरिन् र अल्पकालमा दिवंगत भएका प्रतापको सती दिदी हैन म नै जान्छु भन्ने बनाइन् र मैजु महारानी नै सती गइन्।

यसरी असन्तुष्ट अमात्य र गुभाजुहरूले षडयन्त्र गरी गराएको विवाह यसरी सतीको चितामा बसालेर टुंगियाे। उनीहरुको घरबास भयो। शाहवंशीय पात्रसित खेलवाड गर्नेलाई यस्तै हुन्छ भन्ने विचार यहाँ व्यक्त भएको छ।

यो पृथ्वीनारायण शाहले नेपाल खाल्टो हान्दा असन्तुष्ट अमात्य र गुभाजुहरूले षडयन्त्र गरी विवाह गराएर नाती नेवार जन्माएर राजगद्दीमा नेवार नै राख्ने दुस्प्रयासले दिएको दुखद घटना नै यो कृतिको मुख्ये मुद्दा हो।

यस अन्तद्वन्द्वमा अशोकनाथले पृथ्वी, प्रताप र राजेन्द्रलक्ष्मीका गुणको उजागर गर्ने अवसर पाएका छन् र त्यसलाई कलात्मक तरिकाले प्रशंसाको सेतु बनाउन पाएका छन्।

उसो त अशोकनाथ तिवारीको एक वकिल, अधिवक्ता र प्राध्यापनको अनुभव थियो। त्यसै त भारेभुरेलाई राजाले पनि किन राज्यसभामा मनोनित गर्थे? त्यहाँ पनि छनोटमा कम प्रतिद्वन्द्विता थिएन। लेखकको प्रतिभा किताप पढ्दा थाहा हुन्छ। उनमा मानव मनको अन्तरंगमा पसेर लेख्नसक्ने क्षमता छ।

त्यसैले अशोकको साहित्य शक्तिशाली छ, प्रभावशाली छ र रोचक छ, पठनीय छ। पात्र जोसुकै होऊन्, वर्णनशैली सुन्दर छ। पदलालित्य, उखानटुक्काको प्रयोग, कथाको क्रमिकता अत्यन्त सुनियोजित तरिकाले लेखिएको छ। यसमा १३ वटा शीर्षक छन्।

उपन्यास जस्तै हरएक अध्याय कथाको क्रमिक रूपमा अगाडि बढेको छ। ऐतिहासिक कथानक भएकोले यो क्रमिकता बनाइराख्नु लेखकको कुशलताको प्रमाण हो-मैजु महारानी।

आज ४ वटा कृतिको एकैसाथ लोकार्पण भयो। अशोकनाथको लेखन यही क्रमले अगाडि बढेमा धेरै कृति बजारमा आउन सक्छन्। वस्तु जे बनाए पनि मैजु महारानी जस्ता पीडितको पक्षमा लेख्दै गए त्यसले पाठकको मन छुन सक्छ। राजा र रंकभन्दा पर मानवीय पीडाको खोज गर्न सके उत्तम कृति जन्मन्छ।

अशोकनाथ तिवारीको ‘मैजु महारानी’ यो कृतिको प्राप्ति हो-विजयी शाह वंशको विरोधी, हारबाट असन्तुष्ट अमात्य र गुभाजुहरूको षड्यन्त्रमा पिल्सिएकी मैजु महारानीको पीडालाई आत्यन्तिक रूपमा उजागर गर्दै मानवीयताको वकालत गर्नु नै हो।

सत्यको पक्षमा र असत्को विपक्षमा वकालत गर्नु साहित्यमा भए पनि तिवारी जस्ता अधिवक्ताको काम त्यही हो। लेखकले आफ्नो अनुभवलाई इमान्दारितापूर्वक उपयोग गरेका छन्। त्यसैले पनि कृति पठनीय छ। अस्तु।

संस्थापक अध्यक्ष, अनेसास केन्द्र,
वुडब्रिज, भर्जिनिया




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *