‘सक्किगोनि’का कक्रोज ‘लाज शरणम्’मा
काठमाडाैं। यतिवेला ‘सक्किगोनि’ टिमले निर्माण गर्ने सिनेमा ‘लाज शरणम्’को कलाकार छनोट र प्रि-प्रोडक्सनको काम धमाधम भैरहेको छ। एकपछि अर्को कलाकारको प्रवेश सिनेमामा धमाधम भैरहेको छ। सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने देखिएको छ।
गत साउनमा सिनेमाका लेखक तथा निर्देशक कुमार कट्टेलको जन्मदिनको अवसरमा औपचारिक निर्माण घोषणा गर्दा सिनेमामा ‘सक्किगोनि’ टिमबाट सागर लम्साल (बले), अर्जुन घिमिरे (पाँडे), र कमलमणी नेपाल (खुपीका बाउ)को अभिनय रहने जानकारी दिइएको थियो। आफ्नो टिम बाहिरबाट मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बुको अभिनय रहने फाइनल थिए। बाँकी कलाकारको जानकारी विस्तारै दिने बताइएको थियो ।
त्यससँगै सिनेमामा निर्माण टिमले एकपछि अर्को कलाकार अनुबन्धित गर्दै गइरहेको छ। अहिलेसम्म सिनेमामा रामभजन कामत, बबिन राई (गल्फने बाजे), प्रियना आचार्य (मुन्नी) ‘सक्किगोनि’ टिमबाट र बाहिरबाट अभिनेता महेश त्रिपाठी र अभिनेत्री रेनु नाथ योगी अनुबन्धित भैसकेका छन् ।
यसैबीच सिनेमामा हरिष निरौला (कक्रोज) अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार सिनेमा कक्रोजको पनि अभिनय रहने जानकारी दिएको हो । आगामी भदौ तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमा फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने सिनेमामा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment