काभामा पदक जितेका चार भलिबल टोलीलाई सम्मान

डिसी नेपाल
८ भदौ २०८१ २०:३६
20
Shares

काठमाडौं। नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगद सहित सम्मान गरेको छ।

भलिबल संघले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो।

यस्तै काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही १ लाख २ हजार प्रदान गरिएको छ।

काभा वुमन्स नेसन्स लिगका मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले पनि नगद १ लाख २ हजार प्राप्त गरे। यस्तै सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार प्रदान गरियो।

भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो। स्वर्ण विजेता कमला पुन र मनिषा चौधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिल बहादुरसुनारले समान ३० हजार प्राप्त गरे । बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमको प्रशिक्षक रहेका रुपेश विष्टले नगद ४० हजार प्राप्त गरे।

यस्तै माल्दिभ्समा भएको काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा कांस्य विजेता टोलीलाई जनही १५ हजार पुरस्कार प्रदान गरियो।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउण्डेसनकी अध्यक्ष रामकुमारी झाँक्रीलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *