सोह्र श्राद्ध सुरु, गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

डिसी नेपाल
२ असोज २०८१ २०:०१
24
Shares

काठमाडौं। यहाँको गोकर्णेश्वर उत्तरगया धाममा सोह्र श्राद्ध गर्नेको भीड लाग्न थालेको छ।

सोह्र श्राद्धको पहिलो दिन आज प्रतिपदा श्राद्ध गर्न श्रद्धालुको भीड लागेको हो। राजधानीमा डेरा लिएर बसेकाहरु यहाँ श्राद्ध गर्न आउने गरेको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयराम महतले जानकारी दिए।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदा दान र पिण्ड दान गरिने भएकाले सोह्रश्राद्ध भनिएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिने समितिका सदस्य एवं धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए। चाडपर्व यज्ञ आदि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए। कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन्।

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ। बडादशैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ। ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *