रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक

डिसी नेपाल
१३ असोज २०८१ १०:३४
48
Shares

काठमाडौं। नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ। काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ।

अष्ट्रेलियाको सिडनीमा आयोजित एक वृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडियो गायक ढकालले सार्वजनिक गरेका छन्। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलिया फिचरिङ छन्।

भिडीयोमा दिलिप रायामाझीले परदेशिएका नेपालीको भौतिक र मानसिक दुखः पीडालाई ज्वलन्तरूपमा प्रस्तुत गरेका छन् । उनी यो गीत आफ्नो जीवनमा समेत धेरै हदसम्म मेल खाएको ठान्छन् । उनले भने, ‘देशको माया त धेरै हुन्छ तर यथार्थमा त्यो मायाले पेट नभर्ने रहेछ, यस्तै पिडामा समाज र परीवारसँग बिछोडिएका नेपाली चाँडो जन्मभूमी फर्केर पुनर्मिलनको वातावरण बनोस् ।’

परदेशिएका नेपालीहरुमा समर्पित गीतमा घर छोडेर परदेशिए पछिको पीडालाई यथार्थपरकरुपमा चित्रण गरेको छ । नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

भिडियोमा घनेन्द्र रसाईलीको निर्देशन, राजेन्द्र विष्टको छायांकन, र सुक कालिकोटेको प्रोडक्सन डिजाइन छ । भिडियोको पोस्ट प्रोडक्सन ड्रागन प्रोडक्सनमा गरिएको छ भने प्रकाशन संयोजन नेपाल म्यूजिक एसोसिएशनका अध्यक्ष तथा साधना कला केन्द्रका संस्थापक मिलन मोक्तानले गरेका छन्।

गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रीय नियोग यूएसएड्को मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । गीतकार खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए । ‘यो गीत गायक रामकृष्ण ढकाल कै लागि लेखिएको हो । गायक र संगितकार दुबैले गीतको शब्द र भाबहरुमा पूर्ण न्याय दिनुभएको छ । गीतमा आम दर्शक तथा श्रोताहरुले आफ्नै वा आफ्ना नजिकका मान्छेहरूको कहानी पाउनेछन्’, उनले भने ।

विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रहि नेपाल लगायत विभिन्न देशहरुको कार्य अनुभव बटुलेका खड्काले नियमितरुपमा साहित्य र संगीतको क्षेत्रमा कलम चलाउने गरेका छन् । एक दर्जनको हाराहारीमा गीत रेकर्ड गराईसकेका गीतकार खड्काको पछिल्लो गीत ‘तिमी जे बन उदाहरण बन’ को भिडियो एआई प्रविधिमा तयारी पारिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *