कविता : गालीको आत्मरती !
उसलाई अरुलाई गाली गर्न
अरुलाई सानो बनाएर
आफू अग्लिन
मजा लाग्छ।
उसकाे सम्पूर्ण मगजका तन्तुहरु
चलायमान हुन्छ्न्
गाली गर्न थालेपछि।
मञ्चमा उभिँदा होस्
कविता पढ्दै गर्दा होस्
उ आफ्ना कमजोरीहरु
आफू काँतर भएको
र आफ्नो घर समाल्न नसकेको
सब कुरा बिर्सन्छ र
आफ्ना आफन्त, बन्धुबान्धब
छिमेकी तिर फर्किएर
रिसाउन थाल्छ।
यस्तो लाग्छ
उसकाे घरमा आगो झोस्ने
छोरी चेलीको अस्मिता लुट्ने
उसलाई डाँडा कटाउने
उसकै छिमेकी हो।
उस्ले देश बनाएको कुरा गर्याे
आशिम देश प्रेमको गीत गायो
भक्कानिएर रोएको नाटक गर्याे
के के गरेन छिमेकीलाई देखाउन
तर घर भित्र उसले केही गरेन
अप्ठ्यारो आउँदा तर्केर हिँड्यो
आगो लाग्दा निभाउन
पानीको जो हो गरेन
आँधी आउँदा घरको छानो फेरेन
बलो बाधेन, खाबो गाडेन
बरु घर त्यसै जल्न दिएर
आफू लुसुक्क भाग्यो
ओत खोज्दै ।
म त विवश भएर हिँडेको भन्छ
तर कायर नभएको प्रमाण खोज्छ
काँतरहरू सिपालु हुन्छन्
झुठ बोल्न
आफूलाई अब्बल देखाउन
आफ्नो प्रसंसा आफैं गर्न
बास्तवमा यिनलाई प्यारो लाग्छ
आफ्नो छालाको
र यही छाला पिल्सिने डरले
भागी हिँड्छन यिनीहरू !
यिनको गरु मन्त्र हो
अश्वस्थामा हतोहत
अगाडि उभिएको प्रतिपक्ष
यिनको तागतले पछारिन्न
यसैले छल कपट यिनको
अस्त्र बन्छ
झुक्याएर आक्रमण गर्छन्
र बहादुर भएको ढोल पिट्छन्
क्या अस्त्र छ यिनको दिमागमा
अश्वस्थामा हतोहत !
झोराहाट -२ मोरङ
No ads found for this position


Facebook Comment