भारत-चीनसहितका ब्रिक्स सदस्य राष्ट्रमाथि शतप्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ब्रिक्स राष्ट्रहरूलाई धम्की दिँदै यी राष्ट्रहरूले अमेरिकी डलरलाई कमजोर पार्ने प्रयास गरेमा उनीहरूमाथि शतप्रतिशत भन्सार लगाउने बताएका छन् ।
ब्रिक्स संगठनमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्स समावेश छन् । यी राष्ट्रहरूले अन्तर्राष्ट्रिय व्यापारमा डलरको प्रभुत्वलाई कमजोर पार्नेगरी नयाँ मुद्रा प्रचलनमा ल्याएमा वा डलरबाहेक कुनै अर्को मुद्रा प्रयोग गर्न थालेमा भन्सार दर शतप्रतिशत बनाउने ट्रम्पले चेतावनी दिएका हुन् ।
ब्रिक्स संगठनमा अहिले ९ सदस्य राष्ट्र छन् । यसबाहेक टर्की, अजरबैजान र मलेसियाले ब्रिक्सको सदस्य बन्न आवेदन दिएका छन् र अन्य धेरै देशहरू पनि यसमा सामेल हुन चाहन्छन्। यद्यपि, अमेरिकी डलर विश्व व्यापारमा सबैभन्दा बढी प्रयोग हुने मुद्रा हो र विगतमा चुनौतीहरूको बाबजुद पनि आफ्नो श्रेष्ठता कायम राख्न सफल भएको छ।
ट्रम्पको धम्की भारतजस्तो विकासोन्मुख देशका लागि पनि चिन्ताजनक छ किनभने भारतले अमेरिकाबाट सामान आयात मात्र गर्दैन, ठूलो परिमाणमा धेरै वस्तु निर्यात पनि गर्छ । आर्थिक वर्ष २०२३-२४ मा भारत र अमेरिकाबीचको द्विपक्षीय व्यापार ११८.३ अर्ब अमेरिकी डलर थियो। यस अवधिमा भारतले अमेरिकालाई ४१.६ अर्ब डलर निर्यात गरेको थियो ।
नेपालले अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्ने प्रमुख बाटो पनि भारतीय बजार नै हो । भारतले अमेरिकासँगको व्यापारमा ठूलो भन्सार करको सामना गर्दा नेपालले पनि त्यसको परिणाम भोग्नुपर्नेछ । यसबाहेक नेपालको सीमा जोडिएको अर्को देश चीन पनि ब्रिक्स सदस्य नै भएकोले ट्रम्पको यो सदमले नेपालले कुनै पनि सीमा जोडिएका छिमेकीमार्फत अमेरिकी बजारमा व्यापार गर्न ठूलो कठिनाइ हुनेछ ।
ब्रिक्स सदस्यहरू र अन्य विकासशील देशहरूले विश्वव्यापी वित्तीय प्रणालीमा अमेरिकाको वर्चस्वबाट दिक्क भएको बताएका छन्। ब्रिक्स राष्ट्रहरू अमेरिकी डलर र युरोमाथिको विश्वव्यापी निर्भरता घटाएर आफ्नो आर्थिक हितलाई राम्रोसँग अघि बढाउन चाहन्छन् ।
सन् २०२३ को अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलन भएको बेला ब्रिक्स देशहरूले आफ्नो छुट्टै मुद्रा ल्याउने विषयमा छलफल गरे र ब्रिक्स राष्ट्रहरूबीच आपसी व्यापार र लगानीका लागि साझा मुद्रा सिर्जना गर्ने प्रस्ताव गरे। यो प्रस्तावबाट ट्रम्प आक्रोशित भएका छन् ।
ट्वीटरमा पोस्ट गर्दै ट्रम्पले भने, “ब्रिक्स देशहरू डलरबाट टाढा जान खोजिरहेका छन् र हामीले पर्खेर हेर्ने समय सकिएको छ । हामीलाई यी देशहरूबाट नयाँ ब्रिक्स मुद्रा प्रयोगमा नल्याउने र शक्तिशाली अमेरिकी डलरको स्थानमा कुनै पनि मुद्रालाई समर्थन नगर्ने प्रतिबद्धता चाहिन्छ । अन्यथा तिनीहरूले शतप्रतिशत भन्सार कर सामना गर्नेछन् र तिनीहरूले अमेरिकी अर्थतन्त्रमा आफ्ना उत्पादनहरू बेच्न छोड्न तयार हुनुपर्छ । अन्तर्राष्ट्रिय व्यापारमा ब्रिक्सले अमेरिकी डलरलाई प्रतिस्थापन गर्ने कुनै सम्भावना छैन र त्यसो गर्ने प्रयास गर्ने कुनै पनि देशले व्यापारमा अमेरिकालाई अलविदा भन्नुपर्छ।”
यस वर्ष अक्टोबरमा भएको ब्रिक्स राष्ट्रहरूको शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले डलरलाई ‘हतियार’ बनाएको आरोप लगाएका थिए र यसलाई ‘ठूलो गल्ती’ भनेका थिए । त्यसबेला पुटिनले भने, “डलर प्रयोग गर्न अस्वीकार गर्ने हामी होइनौं। तर यदि उनीहरूले हामीलाई काम गर्न दिएनन् भने हामी के गर्न सक्छौं ? हामी विकल्प खोज्न बाध्य छौं।”
रूसले विशेष गरी नयाँ भुक्तानी प्रणालीको निर्माणमा जोड दिएको छ जसले विश्वव्यापी बैंक मेसेन्जिङ नेटवर्कहरूको विकल्प प्रदान गर्दछ र मस्कोलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न र साझेदारहरूसँग व्यापार गर्न अनुमति दिन्छ।







डिसी नेपाल







Facebook Comment