अपहरण, बलात्कार, हत्या र बेपत्ता : आमाद्वारा न्यायको अपिल

डिसी नेपाल
३ पुष २०८१ ७:५४
100
Shares

राजविराज। सप्तरी डाक्नेश्वरी नगरपालिका–१ कविलासा गाउँकी ५५ वर्षीया चन्दरदेवी साहले १९ वर्षीया छोरी सन्तोषीको अपहरण, बलात्कार र हत्या तथा १७ वर्षीय छोरा आशिषलाई बेपत्ता पार्नेमाथि कडा कारबाही माग गरेकी छन् । छोरी सन्तोषीको बलात्कारपछि हत्या तथा छोरा आशिषलाई बेपत्ता बनाएको ३ वर्ष पुरानो घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरपछि मंगलबार सप्तरी सदरमुकाम राजविराज आएकी उनले सञ्चारकर्मीसँग ‘दोषीमाथि कडा कारबाही हुनुपर्ने’ माग गरेकी हुन् ।

प्रहरीले आरोपीमध्येका सोही वडाका धीरेन्द्रकुमार साहलाई ११ दिनअघि पक्राउ गरेको थियो । साह गत १६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

पदभार ग्रहण कार्यक्रममा सरिक हुन गएका बेला प्रहरीले उनलाई गत २१ मंसिरमा कार्यक्रमस्थलबाटै पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार पक्राउ परेका साहमाथि अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कसुर ज्यानलगायत मृद्दामा सप्तरी जिल्ला अदालतबाट १०–१० दिन गरी दुईपटक म्याद थपी अनुसन्धान कार्य भइरहेको छ ।

पछिल्लोपटक मंगलबार सप्तरी जिल्ला अदालतबाट दोस्रोपटक १० दिनको म्याद थपेर साहलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार १७ साउन २०७९ मा भएको सन्तोषीको अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानलगायत अपराध गरेको साहसहितका केही व्यक्तिमाथि आरोप छ ।

सो अपराधमा संलग्न आरोपीविरुद्ध पीडित परिवारद्वारा १९ साउन १९ २०७९ मा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । मुद्दा दर्ता भएपश्चात् १२ चैत २०८० मा उच्च अदाललत जनकपुर–राजविराज इजलासबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ । १५ साउन २०८१ मा प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि साहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । घटनाका अन्य आरोपीको खोजी कार्य भइरहेको छ ।

मृतक सन्तोषीकी आमा चन्दर देवीका अनुसार घटनाको केही दिनपछि १७ वर्षीय छोरा आशिष बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । छोरीको अपहरण, बलात्कार र हत्या घटना प्रकरणमा संलग्न रहेकाले ‘घटना मिलापत्र गर्न विभिन्न आर्थिक प्रलोभन देखाउनुका साथै मुद्दा फिर्ता लिन धम्कीपूर्ण दबाब दिने गरेको’ उनले बताइन् । आफ्नो छोरालाई पनि सोही समूहले बेपत्ता बनाएको उनको दावी छ ।

चन्दर देवीले छोराको अवस्था पत्ता लगाई दिने कार्यमा समेत सबैलाई सहयोग गरिदिन आग्रह गरेकी छन् । ‘मेरो छोरीको ज्यान त अब फर्किंदैन तर छोराको पनि अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘छोरालाई पनि मारिसके कि ज्यूँदै छ, कम्तीमा छिटोभन्दा छिटो प्रहरीले छोराको अवस्थामा पनि सार्वजनिक गरोस् ।’

राजधानी दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *