भारतीय गायक सोनु निगम नेपाल आउँदै
काठमाडौं । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्।
यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताए।
उनले भने, ‘मैले नेपाली गीत धेरै गए पनि नेपालमा कन्सर्ट भने गरेको छैन। अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म उक्त दिनको प्रतीक्षामा छु। नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन।’
आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताए।
‘उहाँले धेरै नेपाली गीत गाउनुभएको छ। यसअघि नेपालमा उहाँलाई लिएर कन्सर्ट आयोजना भएको छैन। सोही कारण हामीले उहाँलाई नेपालीमाझ प्रस्तुत गर्न लागेका हौँ। उहाँले साङ्गीतिक समूहसँग आफ्नो प्रस्तुति दिनु हुनेछ। उहाँ नेपाल आउने सन्दर्भमा निकै उत्साहित र प्रतीक्षारत हुनुहुन्छ’, निर्देशक घिमिरेले भने। उनले लाइट र साउण्डको सामान मिलाएर स्टेज तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए।
बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा छ हजार दर्शकले टिकेट खरिद गरिसकेको निर्देशक घिमिरेले जानकारी दिए। ‘हामीले कार्यक्रमलाई सभ्य र भव्य बनाउने प्रयासमा तयारी गरेका छौँ। सोहीअनुसार अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा पनि कार्यक्रम गर्न सुरु गरेका हौँ। आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने तयारीमा छौँ’, उनले भने।
गायक निगमले स्वर दिनुभएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्। यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन्।
उक्त कार्यक्रमका लागि न्यूनतम रु दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउनेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment