‘देववाणी’को प्रचारका लागि काठमाडौं आइपुगे बलिउड अभिनेता ह्यारी जोश

डिसी नेपाल
९ पुष २०८१ १७:५९
272
Shares

काठमाडौं । बुधबारदेखि प्रदर्शनमा आउने आफू अभिनित नेपाली फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि बलिउड अभिनेता ह्यारी जोश नेपाल आइपुगेका छन्।

क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको फिल्म ‘देववाणी’को प्रवर्द्धनका लागि नेपाल आएका ह्यारी जोशले बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा दर्शकसँगै फिल्म हेर्नेछन्। भारतीय फिल्म वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरेका अभिनेता ह्यारीले काठमाडौं विमानस्थलमा ओर्लीए लगत्तै उनले आफूलाई नेपाल र नेपाली अत्यधिक मन पर्ने बताएका छन्।

उनले थुप्रै बलिउड र तेलुगुका हिट फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनले केही दिन काठमाडौंमा रहेर फिल्मको प्रचारप्रसार गर्नेछन्।

मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको फिल्मका निर्देशक बाबु साहेब बलामी बताउँछन्। निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन्। बुधबार बेलुकी सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै फिल्म हेर्नेछन्। त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन्। त्यसपछि उनी मुम्बई फर्किने योजना छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फिल्मका निर्देशक बाबु बलामी, अभिनेत्री अनुजा लेप्चा र निर्माताले स्वागत गरेका थिए। अभिनेता जोश आउनुअघि फिल्मका अर्का भारतीय अभिनेता कुन्दन भारद्वाज पनि काठमाडौंमा आएर प्रचारप्रसारमा जुटिसकेका छन्।

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको पनि अभिनय छ।

फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको निर्मात्रीसमेत रहेकी नायिका अनुजा लेप्चाले बताइन्। नेपालमा क्यूएफएक्सलगायतका हलले शो खुलाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.