शिक्षाको सुधारका लागि राजनीति सही हुनुपर्छ: डा बाबुराम भट्टराई
काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौंको माइतिघर मण्डलामा आज शैक्षिक अभियन्ता नेत्र चापागाईँको शिक्षा क्षेत्रको सुधारको आन्दोलनलाई ऐक्यबद्धता दिन आइपुगेका पूर्व प्रधानमन्त्री डा भट्टराईले शिक्षा क्षेत्रको सुधारका लागि सही राजनीतिक हुनुपर्नेमा जोड दिए।
सीमित साधन स्रोतकाबीच पनि प्राथमिकीकरण गरेर शिक्षा क्षेत्रको विकास गर्न जरूरी रहेको औँल्याउँदै उनले यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व शिक्षामन्त्री शिशिर खनालले शिक्षालाई बलियो र प्रभावकारी नबनाएसम्म देश विकास नहुने बताए। उनले पछिल्लो समयमा सार्वजनकि विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेको भन्दै चिन्ता प्रकट गरे। उनले पैसा हुने र नहुनेबीच दुइवटा समाज निर्माण भएको दाबी गर्दै सार्वजनिक स्कुलमा पढ्ने विद्यार्थीले राम्रो शिक्षा आर्जन गर्न सक्छन् भन्ने ग्यारेन्टी सरकारले गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा विवेकशील साझा पार्टीका रञ्जु दर्शना, शिक्षक महासंघका पुष्पराज कुँवरलगायतले शैक्षिक गुणस्तर सुधारका लागि आमूल परिवर्तनको खाँचो रहेको औँल्याएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment