निबन्ध : बिहानीको चिसो सिरेटो

ज्ञानेन्द्र विवश
२३ पुष २०८१ १३:३९
68
Shares

हिउँदको बिहान। पूर्वतिर भर्खर सूर्यले आफ्नो झुल्का देखाउँदै थियो। पहाडका चुचुराहरू सुनौलो किरणले बिस्तारै चम्किरहेका थिए। चिया पिउँदै गर्दा बाहिरको दृश्य मनमोहक देखिन्थ्यो। तर बाहिर निस्किने आँट थिएन। किनकि सिरेटोले अँगालो मार्न आतुर जस्तो लाग्थ्यो।

मेरो हातमा कपमा तातो चिया थियो, तर त्यो चियाको न्यानोले पनि सिरेटोको चिसो छेकेजस्तो लाग्दैनथ्यो। बाल्यकालका ती मीठा सम्झनाहरूले भने मनको कुनै कुनालाई न्यानो बनाउँथ्यो। त्यो बेला, हाम्रो गाउँमा हिउँदको बिहानी सिरेटोले ढपक्क छोपेको हुन्थ्यो। हामी बालबालिकाहरू अगेनोमा आगो ताप्दै खेल्थ्यौं। न्यानो लुगामा बेरिएर आ-आफ्नो विद्यालय जान तयार हुन्थ्यौंं।

सिरेटोको चिसोले मनमा जति नै जाडो ल्याए पनि, त्यसले जीवनका मीठा अनुभूतिहरू पनि सँगै ल्याउँथ्यो। सम्झना छ, आमाले दिएको ऊनको टोपी र बाबा बनाइदिएको सानो लट्ठीले हामीलाई कति आनन्द दिइन्थ्यो। स्कूल पुग्ने बाटोमा कुहिरोको पर्दा चिर्दै हिँड्दा, कहिले काँही पातलिएको सूर्यको उज्यालो मुस्कुराउँथ्यो।

आज पनि, जब चिसो सिरेटोले अँगालो हाल्छ, ती पुराना दिनहरूको याद मनमा ताजगी बनाइदिन्छ। सिरेटोको त्यो चिसोमा लुकेको प्रेम, त्यसमा मिसिएको प्रकृतिको छुवाइ, अनि तिनको स्पर्शले दिएको जीवनको मिठास मेरो हृदयमा गाढा भएर बसेको छ।

समयले धेरै कुरा परिवर्तन गर्‍यो। तर त्यो चिसो अँगालोले ल्याएको बाल्यकालको अनुभूति भने कहिल्यै पुरानो भएन। हरेक हिउँदको बिहानी, चिसोले मलाई फेरि एक पटक बाल्यकालको काखमा फर्कयाउँछ। अनि मलाई लाग्छ, त्यो चिसो अँगालो मात्र होइन, त्यो समयको विगत मीठो सम्झनाको चोइटो हो।

संसारको हरेक बिहान नयाँ आशाको सन्देश लिएर आउँछ। सुस्केरा हाल्ने समय होस् वा उत्साहले नयाँ दिनको स्वागत गर्ने घडी, बिहानीको सिरेटोले सधैं एउटा अनौठो अनुभूति गराउँछ। चिसो हावाको स्पर्शले शरीरलाई कपाएजस्तै आत्मालाई नयाँ ऊर्जा र ताजापनले भरिदिन्छ।

आज बिहानै उठ्दा झ्यालको सिसा बाफले ढाकिएको थियो। बाहिरको दृश्य दूंधले छोपिएजस्तै, मेरो मनमा पनि केही अस्पष्ट विचारहरू घुमिरहेका थिए। हुस्सुले ढाकिएका बाहिरी दृश्य क्रमशः त्यसको एक झोक्का झ्यालबाट भित्र पस्न थालेपछि म झ्याल खोलेर बाहिर निस्किने निर्णयमा पुगेँ।

घरको आँगनमा उभिँदा शीतले भिजेका फूलहरू र पातहरूमा चम्किरहेको घामको झिल्को देखेर मन दङ्ग पथ्र्याे। शहरको व्यस्त जीवनले यी प्राकृतिक क्षणहरूलाई अक्सर बिर्साइदिन्छ। तर, आज यो चिसो सिरेटोले फेरि एकपटक विगत दिनहरूलाई झल्काइदिएको छ।

सायद यो सिरेटोले पनि यस्तै एउटा सन्देश बोकेको थियो। उसले मलाई न्यानो र पुरानो सम्झनाहरूको किताब पल्टाउन लगायो। समयको ठेला र गाढा यात्रा बीच पनि प्रकृतिले दिएको यी साना उपहारहरूले हाम्रा मनका झ्यालहरू खोलिदिन्छन्।

सिरेटोले निम्त्याएको चिसोले औंलाहरूलाई गिज्याए पनि यो चिसोमा न्यानोपन खोज्न सकिन्छ। जस्तै, एउटा चिया कप हातमा लिँदै यो सिरेटोको संगतमा बसेको क्षण। जीवनका सबै सुख-दुःख यस्तै सिरेटो जस्तै हुन्। चिसो भए पनि आत्मामा ताजगी दिने, छातीमा न्यानो उज्यालो भरिदिने।

आजको यो बिहानीको चिसो सिरेटो, पुराना सम्झनाहरूलाई सजीव पार्दै, जीवनको एउटा नयाँ उत्साह बोकेर आएको अनुभूति भयो। सायद प्रकृतिको यो एउटा मौन सन्देश हो- ‘तिमी जहाँ छौ, त्यहीँ शान्ति र खुशी खोज। चिसो सिरेटोले पनि त यही सिकाउँछ।’

बिहानको सिरेटोले अँगालो हाल्दै गर्दा, जाडो मौसमले आफ्नो प्राचीन गाथा सुनाउँछ। ती स्पर्शमा, प्रकृतिले मानव मनलाई जीवनका विभिन्न भावनाहरूका पानामा पुर्‍याउँछ। मलाई यी सिरेटोका चिसा तर मायालु छुवाइहरूमा आफ्ना विगतका दिन सम्झना आउँछन्। ती दिनहरू, जब बालापनको उन्मुक्ति, युवावस्थाको जोश र जीवनका आरोह-अवरोहहरूसँग खेल्दै थिएँ।

त्यतिबेला बिहान सबेरै उठेर चिसो हावा खाँदै, हिमालको छायाँमा रमाएको समय जीवनको एउटा अनमोल कोसेलीजस्तै लाग्थ्यो। टाढा हेर्दा देखिने फिँजिएको कुहिरो र त्यसभित्र लुकेका गाउँहरू सम्झनाको कुनै धूमिल गाथा झैँ लाग्छन्। जीवनको प्रत्येक चरण, जाडोको प्रत्येक झोक्कासँगै चलायमान हुन्थ्यो।

वास्तवमा सुखका क्षणहरू तिनैमा लुकिरहेका हुन्थे। दुःखले हिरिक्क हुँदै खुशी भेट्न ठूलै कष्ट झेल्नु पथ्र्यो। खासमा आफ्नै बोलीव्यवहार, स्वभावले सुख र दुःखलाई महसुस गर्न सकिन्छ। कस्तै दुःखमा पनि खुशीको भाव प्रकट गर्न सक्नु ठूला कुरा हो।

यसमा नै सुखको साथ रहेको प्रष्ट हुन्छ। हामीसँगै रहेका खुशीहरू र दुःखहरू हामीले नै महसुस गर्न नसक्दा हामी त्यसैलाई खोजिरहेका हुन्छौं। जस्तो सिरेटोको स्याँठले चिस्याउँदाको दुःखलाई हटाउन हामीसँगै छ सुखको उपाय। न्यानोमा घुस्रिने, आगो ताप्ने, बाहिर ननिस्किने बस्।

अतः सुख खोज्न टाढा जानै पर्दैन। खुशी पाउन मरिमेट्नै पर्दैन। परन्तु हामी आफ्नै कारणले दुःखको दहमा डुबिरहेका छौं। सुखलाई चिन्न नसक्दा खुशीलाई पाउन पनि सकिरहेका छैनौं। फलतः हिउँदे चिसो सिरेटोले हामीलाई हायलकायल पार्न थाल्छ। अनि हामी अनेक उपाय गरेर यो दुःखबाट, यो चिसो जाडोबाट मुक्त हुने कोशिश गर्न थाल्छौं।

सुखको परिभाषा हरेक मान्छेसँग फरक हुन सक्छ। मेरो लागि त्यो घामको न्यानोपन थियो, जसले जाडोको कठोरतालाई पगाल्थ्यो। बिहानको त्यो सुकुमार स्पर्शले मेरो हृदयलाई आशाको नयाँ बिहान दिन्थ्यो। ती दिन, जब परिवारसँग आगो ताप्दै पुराना कथाहरू सुनिन्थ्यो, तब आमाको माया अनि बाबाको ज्ञानको गुनगुन सुन्न पाइन्थ्यो। ती क्षणहरू जीवनभरि अमूल्य लाग्छन्।

सुखका ती मिठासले जीवनलाई उज्यालो बनाउँछ भने दुःखका पानाहरूले जीवनको वास्तविक मूल्य बुझाउँछ। ती बिहानहरू पनि सम्झन्छु, जब मनमा गहिरो बोझ लिएर यात्रा गरिरहेको थिएँ। जाडोको कठोरता बाहिरी वातावरणमा मात्र थिएन, मनको कुनामा पनि थियो। तर समयको चक्र घुम्दै जान्छ, र जस्तोसुकै कठोर परिस्थितिमा पनि बिहानको पहिलो प्रकाशले आशा र आत्मविश्वासको बीउ रोप्छ।

जीवनलाई बिहानीको सिरेटोले सधैँ सिकाउँछ- त्यहाँ चिसो छ, तर त्यो चिसोले तपाईंलाई कष्ट दिन होइन, जागरूक गराउन आएको छ। सुख र दुःख दुवै जीवनका दुई पाटा हुन्। यी दुवै पाटालाई समान रूपले अँगाल्न सक्नेहरूले मात्र जीवनको असली मिठास महसुस गर्न सक्छन्।

यसरी जाडोले मात्र होइन, जीवनले पनि मलाई त्यो पाठ दिएको छ-मायालु मिठास र कठोर अनुभव दुबै अँगाल्न सिक्नु। सिरेटोको चिसो स्पर्शले सिकाएको कुरा यही हो-जीवनका ती पानाहरूलाई सम्झनु, सोच्नु र हरेक पललाई महसुस गर्नु। किनकि, यही पलहरूले नै जीवनको कथा बनाउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *