न्युयोर्कमा ‘सेन्सस २०२० कम्युनिटी अवेरनेस कमिटी’ गठन 

डिसी नेपाल
३ भदौ २०७६ १४:४०

न्युयोर्क । न्युयोर्कस्थित क्विन्स वुडसाइडमा नेपाली समुदायलाई जनगणना सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले स्थानीय नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा गत अगष्ट १८ तारिख आइतबारका दिन एक जनचेतना कार्यक्रम आयोजना गरिएको छ।

आगामी सन् २०२० मा संयुक्त राज्य अमेरिकामा जनगणना सम्पन्न हुँदैछ । प्रत्येक १० वर्षमा आयोजना गरिने अमेरिकी जनगणनामा यस वर्ष नेपाली समुदायलाई सक्रिय रुपमा परिचालन गर्नको निम्ति विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा यो जनचेतना कार्यक्रम आयोजना गरिएको आयोजक मध्येका एक संस्था तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जानकारी गराइन्।

‘अमेरिकी जनगणना २०२० तथा सामुदायिक जनचेतना कार्यक्रम’ नाम दिइएको यस चेतनामूलक कार्यक्रमका स्थानीय दशवटा संघसंस्थाहरुले संयुक्त आयोजना गरेका थिए । जसमा, तामाङ समाज अमेरिका, मधेशी एसोसियसन इन अमेरिका ग्रेटर न्युयोर्क च्याप्टर, दोलखा श्यामा शेर्पा एसोसिएसन इन अमेरिका, शेर्पा एसोसिएसन इन अमेरिका, रिजवुड नेप्लिज सोसाइटी, दर्शन ठकुरी समाज अमेरिका, बाग्लुङ सेवा समाज अमेरिका, नेवा नख न्युयोर्क, बलेवा समाज अमेरिका र भोजपुर समाज अमेरिका रहेका छन्।

यस जनचेतना कार्यक्रम अमेरिकी जनगणना ब्युरो न्युयोर्क केन्द्रको पार्टनरसिपमा आयोजना गरिएको आयोजकको भनाई छ । अमेरिकी जनगणना ब्युरो न्युयोर्क केन्द्रको पार्टनरसिप स्पेसलिस्ट जिन डब्ल्यु किमको प्रस्तुती र लोप्साङ् टि सालाकाको नेपाली अनुवाद सहित कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा जनगणनाको महत्व र जनगणनामा छुट्न गएमा त्यसबाट पर्न सक्ने सामुदायिक असरको बारेमा पार्टनरसिप स्पेसलिस्ट जिन डब्लु किमले कार्यपत्रमार्फत प्रस्तुत गरेका थिए। लगभग तीन घण्टा चलेको कार्यक्रम अवधिभरि नेपाली समुदायका अगुवा एवं संघसंस्थाका प्रतिनिधिहरूले कार्यपत्र प्रस्तुतकर्ता किमलाई आआफ्नो जिज्ञासा राखेका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी आयोजक संस्थाहरुको संयुक्त पहलमा तामाङ समाज अमेरिकाको अध्यक्ष श्रीमती सानुमाया तामाङको संयोजकत्वमा ‘सेन्सस २०२० कम्युनिटी अवेरनेस कमिटी’ गठन गरेको छ । यस कमिटीको मुख्य उद्देश्य न्युयोर्कका विभिन्न स्थानहरूमा नेपाली समुदायलाई जनगणना सम्बन्धी जनचेतना फैल्याउनु रहेको संयोजक तामाङले बताइन्।

अगष्ट १८, २०१९ देखि नेपाली समुदायमाझ अमेरिकी जनगणना सम्बन्धी जनचेतना फैल्याउने कार्य प्रारम्भ गरिएको र यो क्रम २०२० को अन्त्यसम्म रहिरहने संयोजक तामाङले जानकारी दिइन् । यस कमिटीमा इच्छुक अन्य संघसंस्थाहरुलाई समेत संलग्न गर्दै लैजाने र यस कमिटीलाई बिस्तार गरेर जनगणनाको लागि नेपालीहरूको संयुक्त अभियान संचालन गरिने संयोजक तामाङको भनाइ छ।

हरेक पटकको जनचेतना कार्यक्रमको संयोजक परिवर्तन भइरहने र संयोजक सम्बन्धित संस्थाको प्रमुख रहने सहमति भएको आयोजक मध्येका एक संस्था दर्शन ठकुरी समाज अमेरिकाका अध्यक्ष मिलन शाहीले बताएका छन्।आगामी बैठकबाट संयोजकको भूमिका अर्को संस्थाका प्रमुखलाई हस्तान्तरण गरिने र त्यस संस्थाका प्रमुखले जनचेतना कार्यक्रम संयोजन गर्नु पर्ने व्यवस्था गरिएको अध्यक्ष शाहीले बताएका छन्।

रिजवुड नेप्लिज सोसाइटीका अध्यक्ष राजेश भट्टले कमिटीको तर्फबाट अर्को जनचेतना कार्यक्रम आयोजना गर्न आफु तयारी रहेको बताएका छन् । त्यसैगरि मधेशी एसोसिएसन इन अमेरिका ग्रेटर न्युयोर्क च्याप्टरका अध्यक्ष मनोज सिंहले यो संयुक्त अभियानमा धेरै भन्दा धेरै नेपाली संघसंस्थाहरुलाई समाबेश गरेर लैजानु पर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *