चिया विवादमा साथीमाथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ
धरान (सुनसरी)। साथीमाथि खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो।
उक्त अभियोगमा पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन्। उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो।
राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ। हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेको पाँचै जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment