लघुकथा : भर्‍याङ

ईश्वर पोखरेल
१९ माघ २०८१ ६:५२
200
Shares

पहिले पार्टीमा उसलाई ‘भाइ’ भनेर सम्बोधन गर्नेहरू धेरै थिए, अब ‘काका’ भन्नेहरू धेरै छन्।

ऊसँगै पार्टीको सदस्यता लिएका मध्ये कतिपय यस बीचमा पार्टी नेतृत्वमा स्थापित भए, कतिले पार्टी फुटाए, कतिले अन्तर्घात गरे, कति बागी बनेर उठे, केहीको मृत्यु भयो, कतिपय जीएम बन्न गए, केही; विदेशिए, केही ठेकेदारीमा लागे, कतिपयले पार्टी फेरे, कतिपयले आत्महत्या गरे, कति एनजिओमा छिरे, कतिलाई पार्टीले कारवाई गर्‍यो, कतिलाई अख्तियारले कारबाही गर्‍यो, कतिले राजनीति नै छाडे। उसले छाडेन।

ऊ, अर्थात् विष्णुलाल :  इमानदारी र सज्जनताको प्रतिमूर्ति।

अघिल्लो चुनावमा विष्णुलालले टिकट पाउने खुब हल्ला थियो तर पाएन। बरु उसको नेतृत्वमा घरदैलो कार्यक्रम चल्योे। उसले दिलोज्यान दिएर पार्टीले सुम्पिएको जिम्मेवारी पूरा गर्‍यो। उसको पार्टीको उम्मेदवारले चुनाव जित्यो पनि।

यसपटक फेरि टिकट वितरणको कुरा आयो। पार्टीको स्थानीय कमिटीको बैठक बस्यो। बैठकमा माथि-केन्द्रबाट आएको नेताले भन्यो- ‘विष्णुलाल काकाको पार्टीमा ठूलो योगदान छ। उहाँ हाम्रो पार्टीको अभिभावक नै हुनुहुन्छ। उहाँको नेतृत्वमा सबै मिलेर लाग्दा आजसम्म हाम्रो पार्टीले चुनाव हार्नु परेको छैन। म आदरणीय विष्णुलाल काकालाई यसपटकका लागि हाम्रो पार्टीको उम्मेदवार कसलाई बनाउन न्यायोचित हुन्छ् भन्ने बारेमा बोल्न आग्रह गर्दछु।’

विष्णुलाल बसेको ठाउँबाट उठ्यो, यताउता हेर्‍यो, अकमकियो। कोही केही बोलेन। उसले यसपटक पनि ‘हाम्रो पार्टीबाट यसपटक यहाँको उम्मेदवार म आफैं  हुन्छु’ भन्न सकेन।

यसपटक टिकट रोशनले फुत्कायो। ऊ हिजो बजारमा केन्द्रको नेतासँगै सुमोबाट ओर्लिँदै गरेको देखिएको थियो।

पहिले जस्तै विष्णुलालले यसपटक पनि पार्टीमा स्वाभाविक रूपमा अभिभावकत्व ग्रहण गर्‍यो, र यसपटक पनि विष्णुलालकै नेतृत्वमा पार्टीको ‘चुनाव प्रचारप्रसार कमिटी’ गठन भयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *