स्ववियु निर्वाचन: त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

डिसी नेपाल
१ चैत २०८१ २२:३९
332
Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन।

विद्यार्थी संगठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। विद्यार्थी संगठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए।

निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो।

उपत्यकाका नेपाल ल क्याम्पस, शंकर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र उपत्यका बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको हो।

‘निर्वाचन प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा निर्वाचन गर्न निर्देशन दिएका छौँ’, उनले भने, ‘यसपटक हामी सबै आङ्गिक क्याम्पसमा निर्वाचन गर्ने तयारीमा छौँ।’

विसं २०७९ चैत ५ गते भएको निर्वाचनमा नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ। त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *