पूर्वी कंगोमा आएको बाढीका कारण एक सय भन्दा बढीको मृत्यु

डिसी नेपाल
२८ वैशाख २०८२ ७:२५
1.0k
Shares

काठमाडाैं। प्रजातान्त्रिक गणतन्त्र कंगाेको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन्।

मुसलधारे वर्षाका कारण बिहीबार-शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीले एएफपीसँग बताए।

मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुंगा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र सोही तालको किनारामा रहेका घरहरू भत्किएका उनले बताए।

“मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन्”, उनले भने, “विपत्का कारण एक सयभन्दा बढीको मृत्यु भएको, २८ जना घाइते भएका र करिब १५० घर भत्किएका छन्।”

क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताएका छन्। अर्का एक स्थानीय बासिन्दाले एएफपीलाई बताएअनुसार शनिबारसम्म ११९ जनाको शव फेला परेको छ।

टाङ्गानिका तालको छेउमा रहेको र तालबाट मात्र पुग्न सकिने उक्त गाउँमा इन्टरनेट सेवा नभएको एक स्थानीय मानवीय सहायताकर्मीले बताए।

प्रजातान्त्रिक गणतन्त्र कङ्गाका विशेष गरी पूर्वमा ठूला तालहरूको किनारमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन्। सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा रहेका विभिन्न समुदायका करिब ४०० जनाको बाढीका कारण मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *