ब्राउन सुगरसहित तीन पक्राउ

डिसी नेपाल
१२ भदौ २०७६ ७:२८

झापा । झापाको मेचीनगरबाट ब्राउन सुगरसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मेचीनगर–६ भन्सारगेट अगाडिबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बुधबार मोरङ बेलबारी–३ का २४ वर्षीय सन्तोष खड्का र सोही स्थानका १९ वर्षीय सोमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर एक ग्राम १०० मिलिग्राम बरामद गरेको छ। त्यस्तै, प्रहरीले बिहीबार नै मेचीनगर–७ स्थित गैरीगाँउबाट पाँच ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङ बेलबारी–३ का १९ वर्षीय सुरज खवासलाई उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ।

सरकारी छाप कीर्ते गर्ने तीन वर्षपछि पक्राउ

सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए।

सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई विसं २०७३ चैत २२ गते एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकेको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *