भिजिट भिसा प्रकरणले तात्यो संसद, गृहमन्त्रीको राजीनामा ‘बटम लाइन’

डिसी नेपाल
१३ जेठ २०८२ १२:२१
308
Shares

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेबितिकै माओवादीलगाएतका प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गरेका हुन्। उनीहरुले छानविन समिति बनाएर गृहमन्त्रीमाथि अनुसन्धान गर्न समेत माग गरेका छन्।

प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद बर्षमान पुनलाई बोल्न समय दिएका थिए। पुनले भिजिट भिसा प्रकरण मानवतस्करीसँग जोडिएको उल्लेख गर्दै बिमानस्थलभित्रकै भ्रष्टाचार राजनीतिक संरक्षणबिना सम्भव नरहेको बताए।

सो प्रकरणमा गृहमन्त्री प्रत्यक्ष जोडिएको देखिएकाले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न उनले सुझाव दिए। पुनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान हुने वातावरण नबनेसम्म सदन चल्न नसक्ने स्पष्ट पारे।

त्यस्तै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने बताए। उनले गृहमन्त्री लेखक पदमा रहेसम्म निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्न नसकिने भन्दै राजीनामा दिनुपर्ने जिकिर गरे।

निष्पक्ष छानविनका लागि समिति गठन नभएसम्म सदन चल्न नदिने उनले बताए। गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले सदनमा विरोध गरेपछि सभामुख घिमिरेले आसनग्रहण गरेर सहज रुपमा सदन चल्ने वातावरण बनाउन आग्रह गरेका थिए।

प्रतिपक्षीको विरोधकैबीच कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बोल्नका लागि समय माग गरेपछि सभामुख घिमिरेले बोल्न समय दिदा बिपक्षी दलहरु नारावाजीमा नै उत्रिएका थिए।

प्रतिपक्षी दलले निरन्तर नारावाजी गरेपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि बैठक स्थगित गरिएको थियो। सो समय सिमाभित्र पनि बैठक बस्न नसकेपछि सुचना टाँस गरेर भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *