दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

डिसी नेपाल
२० जेठ २०८२ ९:२७
148
Shares

रौतहट । २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ। उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो।

यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।

सयौं दीपले उज्यालो पारियो चोक

कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए।

कार्यक्रम संयोजक विवेक विक्रम शाहीले राजा वीरेन्द्रसँगै मारिएका राजपरिवारलाई विर्सन नहुने धारणा राखे ।

उनले भने,‘राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा हुनुहुन्थ्यो। उहाँसँगै मारिएका राजपरिवारको सम्झना हामीले बिर्सनु हुँदैन। आज दीप बालेर हाम्रो श्रद्धाञ्जली प्रकट गरेका हौं।’

उक्त कार्यक्रममा उपस्थित राजावादीहरू,स्थानीय बासिन्दा र युवाहरूले दरबार हत्याकाण्ड अझै रहस्यमय रहेको भन्दै घटनाको पुनः निष्पक्ष छानबिनको माग समेत गरेका छन् ।

बागमती प्रदेश संसदीय दलका नेता माननीय उद्धव थापाले सरकारी प्रतिवेदनले जनताको जिज्ञासा नमेटिएको भन्दै सत्य बाहिर आउनु जरुरी रहेको बताए । उनले भने,‘सरकारी प्रतिवेदनले जनताको जिज्ञासा मेटाएको छैन। सत्य बाहिर आउनु जरुरी छ।’

कार्यक्रममा राप्रपा बागमती प्रदेश सभाका माननीय उद्धव थापा,कुमारी स्याङतान,नुरल बज्राचार्य,गिरिबहादुर तामाङ र डम्बर तामाङको उपस्थिति रहेको थियो। त्यसैगरी राप्रपा केन्द्रीय सदस्य राम थोक्कर, रामहरी न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर जिल्ला अध्यक्ष किशोर केसी र राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष विवेक विक्रम शाहीको पनि उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.