रूस-युक्रेन युद्ध रोक्ने निर्णायक वार्तामा पुटिन, जेलेन्स्कीसँगै ट्रम्प पनि सहभागी हुने
काठमाडौं । रूस र युक्रेनबीच जारी युद्ध रोक्न निर्णायक वार्ता हुने भएको छ । यो बैठक यो महिनाको अन्त्यमा गर्ने तयारी गरिएको छ । यो बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिग, युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत सहभागी गराउने तयारी छ ।
सोमबार टर्कीमा युक्रेन र रुसबीच भएको वार्तापछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले ३ देशका राष्ट्रप्रमुखबीच भेटवार्ता गराउने विषयमा छलफल भएको जानकारी दिएका हुन् । उनका अनुसार सोमबारको वार्तामा रूस र युक्रेन सबै गम्भीर घाइते वा बिरामी सैनिकहरू र १८ देखि २५ वर्ष उमेरका सबै लडाकुहरूलाई आदानप्रदान गर्न सहमत भएका छन्। मारिएका सैनिकहरूको शव पनि फिर्ता गरिनेछ।
उमरोभका अनुसार रूस युक्रेनलाई ६ हजार युद्धबन्दी सुम्पन तयार छ । मारिएका युक्रेनी सैनिकको शव पनि अर्को हप्ता फिर्ता गरिनेछ । युद्धको अन्त्यका लागि निर्णायक वार्ता गराउन ३ देशका प्रमुखहरूको भेटको व्यवस्थापनको लागि आफूले प्रयास गरिरहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन् । रूस र युक्रेनबीच पछिल्लो सहमति पनि उनकै मध्यस्थतामा भएको हो ।
राष्ट्रपति एर्दोगानले जेलेन्स्की र पुटिनबीच सद्भावना संवाद हुन सक्ने वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको बताएका छन्। उनले भने, “हामी आशा गर्छौं कि दुई नेताहरू इस्तानबुल वा अंकारामा भेट्न सहमत हुनेछन् र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उनीहरूसँग सामेल हुनेछन्।”
“यदि उनीहरू यसमा सहमत भए भने म पनि यस बैठकमा उनीसँग सामेल हुन चाहन्छु र यसरी इस्तानबुललाई शान्तिको केन्द्रमा परिणत गर्न चाहन्छु,” टर्कीका राष्ट्रपतिले भने। रूस युक्रेन युद्ध अन्त्यको लागि टर्कीलाई निर्णायक शक्तिको रूपमा हेरिएको छ किनभने टर्की रूसको निकट सहयोगी हुनुका साथै अमेरिका नेतृत्वको नेटो संगठनको पनि सदस्य हो ।







डिसी नेपाल








Facebook Comment