गृहमन्त्री लेखकले दिए विपद् पूर्वतयारीलाई तिव्रता
काठमाडौं । गृहमन्त्री रमेश लेखक केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतको सकारोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
मुलुकभर मनसुन भित्रिने क्रमसँगै त्यसबाट जनजीवन प्रभावित हुन सक्ने आँकलन भइरहेका बेला गृहमन्त्री लेखकले विपद् प्रतिकार्यको पूर्वतयारीलाई तिव्रता दिएका छन्।
मनसुन भित्रने क्रमसँगै विपद् प्रतिकार्यका लागि मन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र काठमाडौंमा रहेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय पुगेर निरीक्षणका साथै आवश्यक पूर्वतयारीको बन्दोबस्तीका बारेमा जानकारी लिए।
गत वर्षको बाढीले ठूलो जनधनको क्षति व्यहोरोको मुलुकले यस वर्ष भने झनै ठूलो विपद् आउने पूर्वानुमानसँगै गृह प्रशासन त्यसको प्रतिकार्यमा थप सशक्त ढंगले अघि बढेको हो।
विगत तीन दिन यता गृहमन्त्री लेखकले पूर्वतयारीका विषयमा सरोकारावाला निकायसित समन्वय बढाउनुका साथै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सुरक्षा संयन्त्रसित भर्जुवल बैठकबाट विपद् प्रतिकार्यको पूर्वतयारीमा चनाखो हुन निर्देश गरेका छन्।
गृह मन्त्रालयले विगतको विपद्का घटनाहरूलाई सिकाइका रुपमा लिँदै आफूसित भएका प्राविधिक जनशक्ति र उपकरणलाई समेत तयारी हालतमा राख्न र स्थानीय सरकार, प्रदेश सरकारसित समन्वय बढाउन आग्रह गरेको छ।
बुधबार विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन निर्देशन दिए। उनले समिति स्रोत र साधनका बिच प्रहरी संयन्त्र विपद् प्रतिकार्यमा खटिनुपर्ने बाध्यताको अन्त गर्न मन्त्रालय अग्रसर रहेको बताए।
‘जुन सुकै बेला जेसुकै हुन सक्छ। त्यो मानसिकताका साथ बस्नुपर्छ। मनसुनजन्य विपद्को पूर्वानुमान हुन्छ। तर, भुकम्प र आगलागीको पूर्वानुमान हुँदैन,’ उनले भने, ‘हामी मनसुनको पूर्वसन्ध्यामा छौँ। मनसुन सक्रिय भएपछि बाढी र पहिरो आउँछ। त्यसको पूर्वतयारीमा हामी तयार रहनुपर्छ।’ विपद्को व्यवस्थापन पनि नेपालको जिम्मेवारी दिएको भन्दै चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकले निर्देशन दिए।
‘विपद्को जोखिम न्यनीकरण र व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी हो भनेर कानुनमै उल्लेख छ। नेपाल प्रहरीको उपस्थिति नागरिक तहमा विशाल छ। मानिसमा प्रहरीप्रति आशा र भरोसा बढ्दो छ। विपद्मा मानिसले सबैभन्दा पहिलो प्रहरी नै खोज्छ। हामीले जनताको भावनालाई सेवाको भावले सम्बोधन गर्नुपर्छ,’ उनले भने।
बर्खायाममा बाढी–पहिलो र डुवानको बढी जोखिम न्युनीकरण र व्यवस्थापनको तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।
‘मनसुनजन्य विपद्का लागि आजैदेखि तयार हुनुपर्यो। समयमै पूर्वसूचना गराउन र उद्धारका लागि तयार अवस्थामा बस्न जरुरी छ। जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान छ,’ मन्त्री लेखकले भने।
तीन दिनअति पूर्वतयारीबारे ब्रिफिङ लिनु सशस्त्र प्रहरी बलको मुख्यालय पुगेका गृहमन्त्री लेखकले विपद्को व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद् व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिएका थिए।
विपद् जोखिम देखिएको ठाउँमा परिचालित भएर सम्भावित घटना हुन चनाखो हुनुपर्ने उनको भनाइ छ। यस्तै लेखकले सशस्त्र प्रहरी बल नेपाललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाए।
उनले राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नुपर्ने बताए। ‘त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्यो। कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ। यसले विपद् व्यवस्थापनमा चाडो काम गर्न सकिन्छ,’ लेखकले भने।
मनसुनजन्य विपद्का खतरा देखिएको ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई गम्भीरतापूर्वक लागु गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो। यो वर्ष विगतको भन्दा बढी मनसुन हुने अनुमान गरिएको भन्दै बाढी–पहिरोले निम्त्याउने खतराको पूर्वतयारी थाल्नुपर्ने उनले बताए। ‘कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो यो कमजोरी भयो भन्ने अवस्था आउनु भएन। चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्यो,’ उनले भने।
साथै भर्चुल माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरुले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए। त्यसैगरी मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय पुगेर विपद् पूर्वतयारीबारे जाकनारी लिएका मन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढंगबाट कार्यसम्पदान गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्नेमा जोड दिए।
विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकार लगायतका निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी कार्य गर्न निर्देशन दिए। सो अवसरमा विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्दार सामाग्रीहरूको अवलोकनसमेत गरे।
त्यसैगरी बिहीबार बिहान गृहमन्त्री लेखकले सात वटै प्रदेश र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसित विपद् पूर्वतयारी लगायतका विषयमा भर्जुवल बैठक गरेका छन्।
सो क्रममा बोल्दै गृहमन्त्री लेखकले विगतको जस्तो लापरवाही गरे कारबाहीको चेतावानी समेत दिनुभयो। उहाँले गुनासो नआउने गरी काम गर्ने निर्देशन दिए। ‘यस वर्ष मनसुन बढी हुने पुर्वानुमान भएकाले विपद्बाट क्षतिसमेत बढी हुने आँकलन गरिए अनुसार गम्भीर भएर क्षति कम हुन सचेत भएर लागौं।’
उनले भने, ‘विपद् पूर्व सुचना प्रभावकारी बनाऔं र त्यसका लागि प्रदेश सरकार र स्थानीय तहसित पनि समन्वय गर्नुपर्यो।’ उनले केन्द्रसंगै विपद्लाई मध्यनजर गर्दै प्रदेश र जिल्लामा समेत अप्रेशन डेष्क स्थापना गर्न जोडदिए।
त्यसैगरी निमित्त गृहसचिव जय नारायण आचार्यले विपद्व्यवस्थापनमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जोड दिए।
उनले आम नागरिकले संकटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आग्रह गरे।
यता विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत जेठ १४ गते बसेको बैठकले यस वर्षको मनुसनका लागि उक्त कार्ययोजना पारित गरेको थियो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औं बैठक कार्यकारी समितिका अध्यक्ष एवं माननीय गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले यसअघि यस वर्षको मनसुनको पूर्वानुमान, विपद्बाट प्रभावित हुने अनुमानित केसलोड, मनुसनजन्य विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाला मन्त्रालय, विभाग तथा निकायको जिम्मेवारी, विषयगत क्षेत्र तथा सम्बन्धित निकायको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक सम्पर्क विवरण, सामग्रीहरुको मौज्दात तथा दक्ष जनशक्तिहरुको विवरण समेटिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ पारित गरेको हो।
विपद् प्राधिकरणको नेतृत्वमा विभिन्न सरोकारवाला मन्त्रालय तथा विभागका प्रतिनिधिहरुको समितिले तयार गरेको कार्ययोजनामा यस वर्षको मनसनुजन्य विपद्बाट मुलुकभर चाल लाख ५७ हजार घरधुरीका १९ लाख भन्दा बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ।
गृहमन्त्री लेखकले सातै वटै प्रदेशमा रहेका आपतकालीन गोदामघर समेत विपद् प्रतिकार्यमा सहज बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्।
हालसम्म चार वटा प्रदेशमा उद्धार तथा सहायता सामाग्रीसहितको गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुभएको छ। विपद्लगायतका जोखिमबाट नागरिकलाई बचाउन गोदामघर प्रदेशहरुलाई हस्तान्तरण गरिएको हो।
यसअघि गोदामघर सञ्चालनमा झन्झटिलो प्रक्रियालाई सहज बनाउँदै मन्त्री लेखकले प्रदेश सरकारलाई हस्तान्तरण गरेका हुन्। त्यसैगरी स्थानीय तहलाई पनि पालिका तहसम्म आपत्कालीन गोदामघर सञ्चालनका लागि आग्रह गर्दै आएका छन्।
‘गोदामघरका लागि छुट्टै बजेट र घर चाहिन्छ भन्ने छैन्,’ लेखकले भने, ‘पालिकाको एउटा कोठामा गोदामघर सञ्चालन गर्न पनि सकिन्छ।’







डिसी नेपाल








Facebook Comment