भक्तपुरको ‘जुजु धौ’ : परम्परागत विधि, रसिलो स्वाद

डिसी नेपाल
१५ असार २०८२ १३:२८
60
Shares

काठमाडौं। आज ‘असार १५’ अर्थात ‘राष्ट्रिय धान दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ। नेपाली कृषिमा महत्वपूर्ण मानिने यस दिनलाई धान दिवसको रूपमा मनाइन्छ भने सांस्कृतिक रूपमा दही–चिउरा खाएर उत्सव मनाउने परम्परा पनि रहेको छ।

असार १५ लाई परम्परागत रूपमा रोपाइँको चरम समयको संकेतको रूपमा लिइन्छ। यही अवसरमा किसानहरू धान रोप्दै, एकआपसमा हिलो छ्यापाछ्याप गर्दै, लोकगीत गाउँदै रमाइलो गर्ने गर्दछन्। यस दिनको विशेषता स्वरूप नेपालीहरू दही र चिउरा, केरा, आँप आदि फलफूल मिसाएर खाने गर्छन्। यो चलनलाई शुभकामनाका रूपमा लिइन्छ- खेती सप्रोस्, वर्षा राम्रो होस् भन्ने विश्वास रहेको छ।

तर आज मनाइने धान दिवस र दही चिउरा खाने दिनको लागि भक्तपुरको जुजु धौको माग बढेको छ। अहिले भक्तपुरका जुजु धौ व्यवसायी व्यस्त देखिएका छन्। दूध उमाल्न र जुजु धौ बनाउनमै उनीहरुको दैनिकी अहिले झन् व्यस्त भइरहेको छ।

असार १५, धान दिवस रोपाईंको उत्सव मात्रै होइन, दही-चिउरा खाएर सांस्कृतिक परम्परा जोगाउने यस दिनको विशेष आकर्षण भने भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ – विशेष स्वाद र परम्पराले भरिएको राजसी दही हो, जसको व्यापार यतिबेला उकालो लागेको छ।

तीन दशकदेखि जुजु धौ बनाउँदै आएकी शंखमाया भक्तपुरको एक पुरानो गल्लीमा भेटिन्छिन्। जुजु धौ बनाउने एक सानो तर व्यस्त घर। यही ठाउँबाट ३०-४० वर्षदेखि शंखमाया आफ्नो परिवारसँगै जुजु धौ बनाउँदै आएकी छिन्। उनी भन्छिन्, ‘यो हाम्रो सबैभन्दा पूरानो जुजु धौ हो भक्तपुरको। अहिले काम गर्ने मान्छे भएकाले केही सहज भएको छ। तर सुरुवातमा एक्लै गर्दा धेरै गाह्रो थियो।’

उनका अनुसार ‘जुजु धौ’ साना माटोका भाडादेखि ठूला भाँडासम्म तयार गरिन्छन् , जसको मूल्य २६० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म पर्छ। ‘ठूलो भन्दा पनि सानो सानो ‘जुजु धौ’ बढी बिक्री हुन्छ,’ उनले थपिन्, ‘दुध धेरै लाग्छ, तर जमाउन ३-४ घण्टामै तयार हुन्छ।’

शंखमायाको जुजु धौ काठमाडौं उपत्यकाभर डेलिभरी हुन्छ र अन्य व्यापारीहरू पनि यहींबाट लिएर जान्छन्। यसैबीच विक्रम मानन्धर, जो पछिल्लो दुई–तीन वर्षदेखि यही पेशामा संलग्न छन्।

भन्छन्, ‘हामी कुनैपनि केमिकल प्रयोग गर्दैनौं। हाम्रो दहीमा आफ्नै बिउँ हुन्छ, जुन स्वास्थ्यका लागि सुरक्षित छ। उनी भन्छन्, ‘दही जमाउन दूधको मात्रासँगै चिनी पनि निकै महत्त्वपूर्ण हुन्छ। चिनी बढी-घटी भयो भने दही बिग्रन्छ।’

उनीहरू ५०० देखि ८०० लिटर दूधको दही बनाउँछन्। उनको अनुभवमा असार र विवाह–व्रतबन्धको बेला जुजु धौ को व्यापार सबभन्दा बढी हुने गर्छ।

साथै जुजु धौ नेपालीलाई मात्रै नभइ विदेशीहरुलाई समेत मनपर्ने गरेको उनी बताउँछन्। ‘नेपालीहरु मात्रै नभइ विदेशीहरु पनि आउनु हुन्छ जुजु धौ खान। उनले भने, ‘विदेशीहरुलाई समेत हाम्रो जुजु धौं मनपर्छ र तारिफ गरेर जानुहुन्छ।’

यसैगरी धर्म नयाँजू, आइतबार बिहान जुजु धौ किन्न भक्तपुर पुगेका थिए। नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनी भन्छन्, ‘असार १५ मा दही चिउरा खाने चलन हामी नेपालीको पहिचान हो। परम्परा जोगाउँदै रमाइलो गर्ने दिन हो यो।’ रोपाईं गरेर फर्किएपछि भक्तपुरको जुजु धौ खाएर मनाउने चलन निकै पुरानो हो। अझै पनि उत्तिकै लोकप्रिय छ।

धान दिवसको अवसरमा खेतमा पसिना बगाउने किसानदेखि जुजु धौ बनाउने हातसम्म, सबैको भूमिका महत्वपूर्ण छ। भक्तपुरको जुजु धौ- स्वाद, परम्परा र मेहनतको साङ्लोले यो दिनलाई अझ विशेष बनाएको छ। हरेक असार १५ मा दही चिउरा खानु भनेको स्वाद मात्र नभई नेपालीपनलाई मनाउने एउटा मधुर अवसर पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.