चार किसान सम्मानित

डिसी नेपाल
१५ असार २०८२ २२:३८
36
Shares

डुम्रे (तनहुँ) । कृषि ज्ञान केन्द्र तनहुँले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारासहित आयोजित आयोजित धान दिवसको कार्यक्रममा जिल्लाका चार किसानलाई सम्मान गरेको छ।

व्यास नगरपालिका, कृषि ज्ञान केन्द्र तनहुँ र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाको संयुक्त रुपमा आज व्यास–९ गजौडेमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा चार किसानलाई सम्मान गरिएको हो। म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित उमादेवी कृषि फर्मका सञ्चालक निर्मल अधिकारी, भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित गैह्रे पशु तथा कृषि फर्मका सञ्चालक कृष्णप्रसाद गैह्रे, म्याग्दे गाउँपालिका–६ स्थित डेकबहादुर गुरुङ र भानु थक्रेकस्थित अनुग्रह कृषि तथा पशु फार्मका सञ्चालक छेनर्बु तामाङलाई जनही १० हजारसहित पुरस्कृत गरिएको हो।

कृषक अधिकारीले ४५ रोपनी क्षेत्रफलमा सुन्तला खेतीबाट वार्षिक २५ लाख आम्दानी गर्दै आएका छन्। उक्त फार्मले उन्नत मेसिनरी औजार तथा प्रविधिको प्रयोग, सिँचाइ व्यवस्थापनको लागि पोखरी निर्माण, कृषि बिमा, कृषि ऋणमा पहुँच र वार्षिक १० जनालाई रोजगारी सिर्जना गर्दै आएको छ।

त्यस्तै गैह्रेले करिब ३० रोपनी क्षेत्रफलमा तरकारी खेतीमार्फत रु २५ लाख वार्षिक कारोबार गर्दै आएका छन्। गैह्रे फार्ममा तरकारी खेती (काउली, बन्दा), एकीकृत फर्म सञ्चालन (कृषि बालीसँगै आठ वटा दूध दिने उमेरका भैँसीपालन गरिएको छ। फार्मले उन्नत प्रविधिको प्रयोग, थोपा सिँचाइ र वार्षिक चार जनालाई रोजगारी सिर्जना गर्दै आएको छ।

यस्तै कृषक गुरुङले करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक १५ लाखको कारोबार गर्दै आएका छन्। यस फार्मले मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छ। मुख्यतः आलु, काउली, बन्दा, मुला, धनियाँ, ब्रोकाउली, गाँजर, लहरे तरकारी खेती गर्दै आएको छ।

यसैगरी कृषक तामाङले करिब १७ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरी वार्षिक रु २० लाखको आर्थिक कारोबार गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस फार्ममा रैथाने फलफूल खेती र मसलाजन्य खेती गरिँदै आएको छ।

यी कृषि फार्मले स्थानीयलाई रोजगारी दिनुका साथै उत्पादन बिक्री वितरण र कृषिमा युवालाई प्रोत्साहन गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.