त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले अब उन्मुक्ति नपाउने
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफ्ना कर्मचारीका लागि तयार गरेको ‘एकीकृत जवाफदेहिता फ्रेमवर्क, २०८२’ सोमबारदेखि लागू गरेको छ ।
कर्मचारीहरूको काम, कर्तव्य र अधिकारमा स्पष्टता ल्याउन, त्रुटिरहित कार्यसम्पादन गर्न र आफूले सम्पादन गरेको कामप्रति जवाफदेहिता बहन गराउने उद्देश्यसहित फ्रेमवर्क बनाइएको हो ।
अध्यागमन कार्यालयको यस कार्यलाई भिजिट भिसा प्रकरण चर्चामा आएपछि कमीकमजोरी सुधार गर्न चालेको कदमका रूपमा लिइएको छ ।
विमानस्थलको अध्यागमन प्रक्रियामा बारम्बार देखिने कमजोरी, विवाद र अनियमिततालाई नियन्त्रण गर्ने उद्देश्यले तयार पारिएको सो फ्रेमवर्कलाई तीन चरणमा विभाजन गरिएको छ । जसमा कुनै पनि त्रुटि वा समस्या देखिएमा कुन कर्मचारी प्राथमिक रूपमा जिम्मेवार हुने र अन्तिम जवाफदेही को हुने भनेर पनि स्पष्ट रूपमा किटान गरिएको छ । साथै, अध्यागमन कार्यालयबाट हुने कारबाही पनि फ्रेमवर्कमै समेटिएको छ ।
फ्रेमवर्कमा विशेषगरी नेपाली नागरिकको प्रस्थान, विदेशी नागरिकको आगमन तथा बसाइ र प्रक्रियागत त्रुटिलाई मुख्य तीन खण्डमा बाँडिएको छ । साथै, के गर्दा के कस्तो कारबाही हुन्छ भन्ने कुरा पनि व्यवस्था गरिएको छ ।
नेपाली नागरिकको प्रस्थान खण्डमा आवश्यक कागजात पूरा नभएका यात्रुले प्रस्थान अनुमति पाई फिर्ता भएमा, नक्कली वा फर्जी कागजात प्रयोग गरी यात्रा गरेको पाइएमा, प्रणालीबाट जाँच गर्न सकिने कागजात जाँच नगरी प्रस्थान अनुमति नदिएको पाइएमा, यात्रामा प्रतिबन्धित यात्रुले यात्रा गरेको पाइएमा, एउटा उद्देश्य देखाई गएको व्यक्ति विदेशमा अलपत्र परेमा प्राथमिक र अन्तिम जिम्मेवारी कसको हुने भनेर किटान गरिएको छ । साथै, के कस्तो कारबाही हुने भन्ने कुरा पनि सोमा उल्लेख गरिएको छ ।
आवश्यक कागजात पूरा नभएका यात्रुले प्रस्थान अनुमति पाई फिर्ता भएमा सम्बन्धित अध्यागमन अधिकृतले प्राथमिक जिम्मेवारी लिनुपर्नेछ । अन्तिम जवाफदेही भने वरिष्ठ अध्यागमन अधिकृतले लिनुपर्नेछ । उनीहरूमाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।
यस्तै, नक्कली वा फर्जी कागजात प्रयोग गरी कुनै यात्रुले यात्रा गरेको पाइएमा सम्बन्धित यात्रुका साथै त्यसमा संलग्न म्यानपावर वा कन्सल्टेन्सीलाई समेत जिम्मेवार ठहर गरी मुलुकी अपराध संहिता वा अन्य प्रचलित काुनुअनुसार कारबाही अघि बढाइनेछ ।
यस्तै, यात्रामा प्रतिबन्धित व्यक्तिले यात्रा गरेको पाइएमा सम्बन्धित एयरलाइन्स कम्पनीलाई जिम्मेवार बनाई कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा लेखी पठाइनेछ । प्रणालीबाट जाँच गर्न सकिने कागजात जाँच नगरी प्रस्थान अनुमति नदिएको पाइएमा सम्बन्धित अध्यागमन अधिकृत र वरिष्ठ अध्यागमन अधिकृत (सुपरिटेन्डेन्ट)ले जिम्मेवारी लिनुपर्नेछ ।
यस्तै, एउटा उद्देश्य देखाई गएको व्यक्ति विदेशमा अलपत्र परेमा सम्बन्धित व्यक्ति, संलग्न म्यानपावर वा कन्सल्टेन्सीको प्राथमिक जिम्मेवारी हुनेछ भने अन्तिम जवाफदेहिता अध्यागमन कार्यालयको हुनेछ । यसमा अध्यागमन कार्यालयले कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउनेछ भने यात्रु फिर्तामा सहजीकरण गर्नेछ ।
विदेशी नागरिकको आगमन र बसाइअन्तर्गत नेपालमा प्रवेश रोक लागेको व्यक्तिले भिसा वा आगमन अनुमति पाए र भिसा नवीकरण नगरी लामो समय बसे के गर्ने भन्ने पनि उल्लेख गरिएको छ ।
नेपाल प्रवेशमा रोक लगाइएका व्यक्तिले भिसा वा आगमन अनुमति पाएमा अनुमति दिने अधिकृतलाई जिम्मेवार बनाइनेछ । त्यस्ता विदेशीलाई कानुनबमोजिम देश निकाला गर्न अध्यागमन विभागमा लेखी पठाइने र भिसा जारी गर्ने अधिकृतमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइने उल्लेख छ ।
यस्तै, भिसा नवीकरण नगरी लामो समय बस्ने विदेशी नागरिकलाई कानुनअनुसार शुल्क, विलम्ब शुल्क र जरिमाना तिराएर मात्र नवीकरण गरिने वा मन्त्रालयको स्वीकृतिमा देश निकाला गरिने उल्लेख छ ।
यस्तै, प्रक्रियागत त्रुटिमा पनि कारबाहीको व्यवस्था गरिएको छ । जसमा पहिलोपटक त्रुटि भएको भए सचेत गराउने र दोहोरिएमा नियमानुसार विभागीय कारबाही गरिने उल्लेख छ ।
प्रक्रियागत त्रुटीमा आगमन छाप नलगाई यात्रु बाहिर आएमा, यात्रुलाई धेरैबेर वेटिङ वा होल्डमा राखी उडान प्रभावित पारेमा, राहदानी छाप नलगाई प्रणालीमा मात्रै प्रविष्ट गरेमा, भिसा शुल्क बैंकमा तिरे पनि बिनाभिसा प्रवेश गराएमा, भिसामा केरमेट वा नबुझिनेगरी स्ट्याम्प लगाएमा, कालोसूची–इन्टरपोल हिटमा भएका व्यक्तिलाई प्रवेश–प्रस्थान अनुमति दिएमा, नक्कली–चोरीको राहदानीमा भिसा–आगमन अनुमति दिएमा, गैरआवासीय नेपालीको परिचयपत्रबिना निःशुल्क भिसा दिएमा, प्रणालीमा प्रविष्ट नगरी विदेशीलाई नेपाल भित्र्याएमा, वैध भिसा नभएकालाई प्रस्थान अनुमति दिए र शरणार्थी हैसियतका यात्रा अनुमति पत्रवाहकलाई अनअराइभल भिसा दिएमा जस्ता विषय समेटिएको छ ।
यस फ्रेमवर्कले अध्यागमनजस्तो संवेदनशील निकायमा हुने गरेका कमजोरीलाई सम्बोधन गरी सेवालाई थप पारदर्शी, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले काममा सहजता ल्याउने र तीव्र रूपमा सेवा प्रवाह गर्न सहज हुने बताए ।







डिसी नेपाल








Facebook Comment