मधेशमा पानीको हाहाकार, वारुणयन्त्र र ट्यांकर परिचालन
जनकपुर । वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ।
प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसंग रहेको ८ वटा वारुणयन्त्र, खानेपानी संकटवाट अति प्रभावित क्षेत्रमा बुधबार (आज) पठाइएको छ।
मुख्यमन्त्री सतिश कुमार सिंहले वारुणयन्त्रलाई प्रभावित क्षेत्रतर्फ पठाउन निर्देशन दिँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा सरकार क्रियाशील रहेको जानकारी दिए।
एउटा वारुणयन्त्र ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रवाट एकपटकमा ४० हजार लिटर खानेपानी आपुर्ति गरिने मुख्यमन्त्री सिंहले बताए। खानेपानी समस्या रहेको स्थानमा उक्त वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहने छ। सो वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले संचालन गर्नेछ।
यसअघि प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्यांकर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ। यसै गरी खानेपानी समस्या रहेका अन्य क्षेत्रहरुमा नेपाली सेनासंग समन्वय गरी ७ वटा ट्यांकर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।
सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको उनको भनाई छ।
विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले संघीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायसँगको सवन्मयमा साधनस्रोतको अधिक्तम प्रयोग गरी नागरिकको समस्या समाधान गर्ने तर्फ प्रयत्नशिल रहेको मुख्यमन्त्री सिंहले बताए।







डिसी नेपाल







Facebook Comment