निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

डिसी नेपाल
६ साउन २०८२ १२:११
356
Shares

हरौतहट। रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको सहयाेगले २० फिट तल खेतमा रहेको उक्त कारमाथि ल्याएर खानतलासी गर्दा छुटाछुटै प्याक गरिएको प्लास्टिकको पोका भित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए।

चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तिब्र गतिमा गाडी भगाएका थिए।  प्रहरीको टोलीले गाडी पछ्याउँदै जाँदा कार चालकले गरुडा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ।

डिएसपी राजन कार्कीले झाँझ खोला छेउ खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उखुबारी हुँदै भागेको बताएका छन्। प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च गरे पनि चालक भने फरार हुन सफल भएको छ।

बरामद कारसहितको गाँजाबारे अनुसन्धान भैइरहेको डिएसपी कार्कीले बताएका छन्। बरामद नेपाली नम्बरको कारको माध्यमले गाँजाको बास्तविक कारोबारी पक्राउ हुनसक्ने इलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ। थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.