कविता : अध्यात्मको अन्तिम आकाश

तोमनाथ उप्रेती
१७ साउन २०८२ ७:०७
32
Shares

पसिनाका फुलहरू पन्छाएर,
पाउमुनि परेका पदचिन्हको पखालो खोज्दै,
म मौन क्षितिजमा एउटा प्रश्न राख्छु-
“म को हुँ?”
मौनताको मन्दिरमा नाङ्गै आत्मा उभिन्छ,
जहाँ ईश्वरको इन्द्रेणी आँसुहरू
स्वर्णसरोवर बन्छन्,
र चन्द्रमाको चाँदीले बुद्धिको दीप बाल्छ।
विचारको व्यासगादीमा वाचाल शब्दहरू चुप लाग्छन्,
ज्ञानको गन्धबाट मनको मन्दिर गन्हाउँछ,
र विज्ञानको कपाल समातेर अध्यात्मले भन्छ-
“ओ लौरीवालो भौतिकवाद, मसँग नहिँडे सुख पाउँदैनौं!”
मन्दिरका घण्टाले होइन,
निष्काम कर्मका कणहरूले मुक्ति घन्काउँछन्।
त्यसैले आइन्स्टाइनको सन्तुलनमा,
धर्म बिना विज्ञान लङ्गडो छ,
र विज्ञान बिना धर्म अन्धो छ,
“मैले भनें-
‘पढाई गर, नत्र फेल हुन्छस्।’
उसले भन्यो-
‘ठीक छ, तर अहिले मिटिङ छ, पछि पढ्छु।
“पहिले फेमस बन, पछि ज्ञान देला।”
शरीरको मृत्युमा आत्मा मुस्काउँछ,
पवित्रताको पंखले स्वतन्त्रता उड्छ,
तर नेता भन्छ- “कमिशन बिना राष्ट्रसेवा नगर्नू।”
अध्यात्मले भन्छ-
“बन्धनभित्रै मुक्ति छ,
मृत्युमै अमरत्व छ,
अन्धकारमै प्रकाश छ।”
तर हामी भन्छौं-
“हुन्छ, तर अहिले मिटिङ छ,
पछि फुर्सदमा सोचौँला।”
कालको काँधमा टेकेर चेतनाले फुत्किएको बिँडो,
जिन्दगीका प्रश्नहरूलाई घण्टाघरजस्तो घुमाइरहन्छ।
र अध्यात्म फुसफुसाउँछ-
“निश्कलंक बन्छु भने, कर्मका काँडाहरू पनि टिप्नु पर्छ।”
फूल फुलाउँछ, कहिले काँडा पनि छिराउँछ,
ज्ञानका कणहरू, रगतका थोपा हुँदै
आत्मामा अवतरण गर्छन्।
अनि त्यो आत्मा हाँस्छ-
संसारको सपनामा रमाउँदै,
मुक्तिको मजाक गर्दै,
र भन्छ-
“हेर, ज्ञान सस्तो छैन,
तर ज्ञानको साक्षी मुस्कान सधैँ सित्तैमा बाँडिन्छ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.