भारी वर्षा हुँदा मधेशका किसानलाई राहत
काठमाडौं । मधेशका केही जिल्लामा भारी वर्षा हुँदा किसानलाई राहत मिलेको छ।
बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएसँगै किसानलाई राहत मिलेको हो।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ।
धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको छ।
मधेश प्रदेशका अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा भएको छ। सिरहा र सप्तरीमा भने वर्षा कम भएको छ। यी क्षेत्रहरुमा राति वर्षा भएको थियो। बिहानदेखि भने रोकिएको छ।
लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो। सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले किसान खुसी भएका हुन्।
आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ।







डिसी नेपाल







Facebook Comment