प्रधानमन्त्रीको व्यवहारप्रति राप्रपाको आपत्ति, ‘समाधान खोजौं, आरोप होइन’
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले सरकार र कार्यकारी प्रमुखको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद प्रधानले मधेसमा परेको वर्षापछि किसानले राहत महसुस गरेपनि, सरकारले युरिया मल वितरणमा असमर्थता देखाएको भन्दै ध्यानाकर्षण गराए।
उनले भने, ‘भगवानको कृपाले मधेसमा वर्षा भएको छ। किसानले राहत पाएका छन्। तर सरकारले राहत वितरणका क्रममा युरिया मल उपलब्ध गराउनेतर्फ ध्यान दिएको छैन।’
भिजिट भिसाको विषयमा बोल्दै सांसद प्रधानले वास्तविक समस्या भिजिट भिसा नभएको स्पष्ट पारे। उनले श्रम मन्त्रालय अन्तर्गतका संयन्त्रहरुले मानिसलाई विदेश पठाइरहेको उल्लेख गर्दै, ‘जब कुनै ठाउँमा कमीकमजोरी देखिन्छ र सदनबाट आवाज उठ्छ, कार्यकारी प्रमुखबाट राप्रपा र रास्वपामाथि व्यवस्था विरोधी र संविधान विरोधी आरोप लगाइनु खेदजनक छ,’उनले भने।
प्रधानले भिजिट भिसा प्रकरणको समाधानका लागि न्यायिक छानबिन समिति गठन गर्न माग गरे। उनले स्वार्थ बाझिने समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै संसदीय वा न्यायिक समितिको आवश्यकता औंल्याए।
‘हामी समाधान चाहन्छौं, आरोप होइन। हामी जनताको प्रतिनिधि हौं र सदन चलाउन सहयोग गर्न तयार छौं,’उनले भने।
सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै सांसद प्रधानले भने, ‘सभामुखले सरकार पक्षीय भएर सोच्नुभयो। तर उहाँ क्षमतावान हुनुहुन्छ, समाधान निकाल्न सक्छन्। हामी जनताको आवाज उठाइरहेका छौं, यसको सम्बोधन हुनुपर्छ।’







डिसी नेपाल







Facebook Comment