पूर्वाञ्चल विश्वविद्यालयलाई एमबीबीएस सञ्चालनको अनुमति

डिसी नेपाल
३० साउन २०८२ ७:१९
124
Shares

विराटनगर। स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले अखेर गोठगाउँस्थित स्कूल अफ मेडिसिनमा एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बिहीबारको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो।

यो उपलब्धि विश्वविद्यालयको इतिहासमा एक महत्वपूर्ण मीलका पत्थरका रूपमा रहेको जनाइएको छ। लामो समयसम्मको असफल प्रयासपछि सुन्दरहरैचावासीको निरन्तर आवाज, प्रदेशबासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम-एफर्ट, नव-नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो।

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले यस दिनलाई ‘हाम्रो परिकल्पना साकार भएको शुभ दिन’ भनेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, विश्वविद्यालयका भिजनरी उपकुलपति प्रा.डा. बिजु कुमार थपलिया, सांसद डा. शेखर कोइराला र डा. सुनिल शर्मा, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, चिकित्सक, कर्मचारी, स्थानीय राजनीतिक दल र सरोकार समाज सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्।

ओझाले यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि एक वास्तविक ‘गेम चेन्जर’ हुने दाबी गरेका छन्।

उनका अनुसार, अब प्रदेशका लाखौँ नागरिकले आफ्नै घरआँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, र भविष्यका तेजस्वी तथा दक्ष चिकित्सकहरू यही प्रतिष्ठित कलेजबाट निस्कने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.