टप एण्ड टि-२० सिरिजमा नेपालको लगातार तेस्रो हार

डिसी नेपाल
२ भदौ २०८२ १०:४४
256
Shares

काठमाडौं। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। सोमबार भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई ३१ रनले पराजित गरेको हो।

मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन। उनले ४९ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए। कप्तान रोहित पौडेलले ३३ र कुशल भुर्तेलले २५ रन जोडे।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ३० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। आक्रमक ब्याटिङ गरेका कुशल भुर्तेल १३ बलमा ४ चौका मदतमा २५ रन बनाएर चौथो ओभरमा आउट भए।

लगत्तै भिम शार्की व्यक्तिगत १ रनमा आउट हुँदा नेपाल ४ ओभरमा ३२-२ को स्थितीमा थियो। त्यसपछि ओपनर आसिफ र कप्तान रोहित पौडेलले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै नेपालको इनिङ्स अघि बढाएका थिए।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ए सँग पराजित भएको थियो। नेपालले अब होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.