कविता: आदि कवि तिमीलाई एक चोटी स्पर्श गर्न मन लागेको छ
म भोजपुर क्याम्पसमा वि.क्रम.प्रथम वर्षमा अध्ययनरत थिएँ। मेरो डेरा पोखरे लाइनमा थियो। भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता हुने सूचना प्राप्त भयो। छिट फुट कविता लेख्ने भएकाले एउटा कविता लेखी सहभागी हुन मन लाग्यो। कविता लेखियो कविता बुझाइयो।
२९ गते पर्खेर बसेँ। कवि गोष्ठी सुरु भयो। कविता वाचनको क्रम सुरु भयो। मैले पनि कविता वाचन गरेँ। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा १७६ औं भानु जयन्तिको अवसर पारी कविता प्रतियोगिता गरिएको रहेछ।
कविता वाचन सकियो। निर्णयकको निर्णय आयो। मेरो कविता प्रथम भएछ। म खुशीले एक पटक उफ्रेँ। यो नै मेरो पहिलो पटक पुरस्कृत कविता हो ।
आज
उत्सुकताले रामायण पढ्न मन लागेको छ
काण्ड-काण्ड छिचोलेर माधुर्य लय हाल्दै
म सम्झना गर्छु भानु तिमीलाई
आफ्नै मन मन्दिरमा सजाउँछु
तिमीलाई सम्वोधन गर्ने शब्द छैन
म असमर्थ हुँदैछु आफैं भित्र
आदिकवि
आदिकवि तिमीलाई एक चोटी
स्पर्श गर्न मन लागेको छ।
म भावनाहरु मिलाउँदै जान्छु क्रमले
तिमीलाई परिभाषित गर्न खोज्दा
विगत खोतलेर वर्तमान उभ्याउँछु
भानु तिमी एक,रुप अनेक
शीर्षक, उपशीर्षकमा विभाजन गर्छु
आदिकवि
आदिकवि तिमीलाई एकचोटी
स्पर्श गर्न मन लागेको छ।
आखाँहरु सल्वलाएर विह्वलमा
तिमीलाई भेट्न छटपटाउँछु
नपाउँदा र नभेट्दा
संसार विचित्रकै रहेछ
आउनु र जानु क्रमहरुमा
म हृदय देखि कै सदभावहरु बटुल्दै
तिम्रो पाउमा एक अञ्जुली फूल चढाउँछु
आदिकवि
आदिकवि तिमीलाई एक चोटी
स्पर्श गर्न मन लागेको छ।
मेरो हातमा तिम्रो तस्विर छ
अमरवाती क्रान्तिपुर नगरी
तिमी लय हाल्दै छौ एक तमाशले
म हर्षविभोर भएर सुन्दै छु
कति मिठा छन तिम्रा शब्दहरु
आदिकवि
आदिकवि तिमीलाई एक चोटी
स्पर्श गर्न मन लागेको छ।
तिमीलाई सम्झनु मात्रै पर्छ
मान्छेहरु झुक्छन श्रद्धाले
विद्धानहरु निहुरन्छन् आस्थाले
तिमी एक्लो छैनौ अब
युग कवि भट्टले शंखधोष गर्दै
मुटु, मुटु छिचोलाएर
यहाँ मात्र छैन भानु
परदेशी मष्तिष्कमा प्रस्फुटित भएका छौ तिमी
म श्रद्धाले निहुरन्छु
तिमी अमर छौ हाम्रा मझेरीहरुमा
कुन शब्दले सम्वोधन गरुँ भानु तिमीलाई
संवोधित शब्द नभेटेर हैरान छु
भाषा निर्माता तिमी
आदिकवि
आदिकवि तिमीलाई एक चोटी
स्पर्श गर्न मन लागेको छ।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
No ads found for this position


Facebook Comment